Nirvik Khabar

उस्तै मुद्दामा रवि लामिछाने १२ दिनमै छुटे, जीवन रावल अढाइ महिनादेखि जेलमा

जिल्ला चितवन नै हो । मुद्दा अझ गम्भीर थियो रवि लामिछानेविरुद्धको । लामिछानेसहित तीन जनाको नाम किटेर आफूलाई मर्न बाध्य पारेको भिडियो सन्देश रेकर्ड गरी चितवनकै एक होटलको कोठामा आत्महत्या गरेका थिए, पत्रकार शालिकराम पुडासैनीले । उनले रुँदै रेकर्ड गरेको भिडियो सोसल मिडियामा भाइरल बनेको थियो । मर्नुअघि रुँदै पुडासैनीले भनेका थिए, ‘मेरो हत्यारा तिमी हौ रवि, तिमीलाई कुनै दिन पोल्नेछ ।’ आफूलाई मर्ने स्थितिमा पुर्‍याएको भन्दै रविसँगै युवराज कँडेल र रुकु कार्कीको नाम पनि लिएका थिए उनले ।

२० साउन २०७६ मा पासो लागेर ज्यान फालेका पुडासैनीले न्युज २४ टीभीमा लामिछानेसँगै काम गरेका थिए ।

उनलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा ३० साउन २०७६ मा लामिछानेसहित तीन जना समातिए । आरोपित लामिछानेको पछाडि ठूलो भिड थियो । देशभरबाट हजारौँ मानिस उनको समर्थनमा चितवनमा भेला भए । समातिएको १२ दिनमै ससर्त धरौटीमा छुटे लामिछानेसहितका तीन जना आरोपित ।

एक वर्षपछि पुस २०७७ मा उनीहरूले सफाइ पाए ।  चार वर्षपछि चितवनमै आत्महत्या दुरुत्साहन आरोपमा भिडविहीन एक व्यक्ति भने अढाई महिनादेखि कारागारमा छन् । फरक के भने, त्यो बेला भिड रवि (आरोपित) को पक्षमा थियो, अहिले आरोप लगाउनेको पक्षमा छ । अर्थात् शक्तिका हिसाबले त्यो बेला आरोपित बलिया थिए, अहिले आरोप लगाउनेहरू बलिया छन् । उस्तै मुद्दामा न्यायालयबाट भएको पक्षपातको कुरुप उदाहरण हो यो ।

चितवनको अनमोल फिड्स प्रालिमा काम गर्ने जीवनबहादुर रावल आफ्नै पूर्वमालिक शंकर कँडेलको सुसाइड नोटका आधारमा गत २१ वैशाखमा पक्राउ परेका थिए । उनीमाथिको आरोप के छ भने, शंकरले कम्पनी बेचिसकेपछि पनि उनले शंकरको आदेशानुसार काम गरेनन् । अर्थात् शंकरलाई सहयोग गरेनन् । अर्थात् आफ्ना पूर्वमालिकलाई सुन्न छोडेर नयाँ मालिकप्रति बढी बफादार देखिए । ५१ वर्षको उमेरमा कँडेल गत वैशाख १९ गते एक ‘सुसाइड नोट’ लेखेर आफ्नै अफिसको सिलिङ फ्यानमा झुण्डिएका थिए ।

shankhar-kandel1689233211.jpg
१९ वैशाख २०८० मा आत्महत्या गरेका चितवनका उद्योगी शंकर कँडेल ।

पोल्ट्री व्यवसायी प्रदीपकुमार रुङ्गटालाई अनमोल फिड्स बेचेका उनले आत्महत्या गर्नुको मुख्य कारण बजारको उधारो र पार्टीलाई तिर्नुपर्ने रकमको तनाव नै रहेको भनिएकाे छ ।

तर, पूर्वमालिक र वर्तमान मालिकबीचको कारोबारमा पूर्वमालिकको पक्ष नलिएकै आरोपमा मुद्दा खेपिरहेका रावलले अझै कति कारागारमा बिताउनुपर्छ टुङ्गो छैन । मृतक कँडेलको सुसाइड नोटमा रावलले आफूलाई सहयोग नगरेको उल्लेख छ ।

कँडेलको सुसाइड नोटको मुख्य सार, यसैका आधारमा रावल अढाइ महिनादेखि थुनामा छन्

कम्पनीको शेयर बिक्री गर्दा असाध्यै सौहार्द वातावरणमा बैना गरेको तर पछि अत्यन्त पीडा दिएको । डीडीएमा उल्लेख गरिएको भुक्तानी दिनुपर्ने पार्टी पेमेन्ट (कच्चा पदार्थ, औषधि, बोरा आदि) र ऋण सापटी व्यक्तिगत (विनोद पोखरेल, भरतपर सामुदायिक र सागर कँडेल) लाई भुक्तानी दिन नखोजेको । हरेक दिन एक/एक कुरा झिकेर लफडा गरिरहेको आफ्नो लिनुपर्ने भए थर्काउने, तिनपर्ने रकम तिर्न नखोजेको । कम्पनी पास गरिसकेपछि दुःख दिइरहेको । यो कार्यमा यस कम्पनीका सीए जीवन रावलसमेतले मलाई सहयोग नगर्न खोजेको सबै कुरा थाहा पाएर प्रदीपलाई कुरा गरी भुक्तानी गर्न सहयोग नगरेकाले जिउँदो हुँदैमा केही गर्न नसकी पार्टीहरूको टर्चर, आम भुक्तानी टर्चर सहन नसकी डिप्रेसनमा गएकाले यो अवस्था धेरै सहन नसकेको हुँदा बाध्य भई यो कार्य गरेको छु । शेयर बिक्रीपश्चात् शेयर नामसारीपछि झन् मानसिक पीडा दिएर म डिप्रेसनमा गए दिनको पीडा र मेरो सबै हर हिसाबमा सहभागी सीए जीवनले समेत असहयोगका कारण पीडा सहन नसकी यस्तो निर्णय गर्न बाध्य भएँ । सबैसँग क्षमायाचना गर्दछु । 

बझाङको छबिसपाथीभेरा गाउँपालिका- १ का रावलले १ वैशाख २०७४ देखि अनमोल फिड्समा जागिर खान थालेका थिए । अहिले चितवन महानगरपालिका- ८ का स्थायी बासिन्दा रहेका उनी कँडेलका विश्वास पात्र मानिन्थे । तर, उनै मालिकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अढाइ महिनादेखि कारागारमा छन् उनी । उच्च अदालत हेटाैँडामा उनले दिएको पुनरावेदनको पेसी बारम्बार सरिरहेको छ ।

थुनामा रहेका रावलको कथा बुझ्न उनले काम गरेको अनमोल फिड्समा गत वर्ष के-के भयो, त्यो बुझ्नुपर्ने हुन्छ ।

घट्ना हुनुअघि जे भयो

रावलले लेखापाल बनेर काम गरेको अनमोल फिड्सको कार्यालय भरतपुर-३, भगवती टोलमा र फ्याक्ट्री भरतपुर-५, कल्याणपुरमा छ । पन्छीलाई खुवाउने दाना उत्पादन गर्ने यो कम्पनी १२ वर्षअघि शंकर कँडेलकै अगुवाइमा नवगंगा दाना उद्योगका रूपमा स्थापना भएको हो । पछि उक्त उद्योगमा लगानी बढाएर अनमोल फिड्स खडा गरियो । अहिले नवगंगा दाना उद्योग छुट्टै अस्तित्वमा छ ।

तीन/चार वर्ष मुनाफामा चलेको अनमोल फिड्सको कारोबार कोभिड-१९ को महामारीपछि ओरालो लाग्यो । कम्पनी बैंकको ऋण र बजारको उधारोमा भासिँदै गयो । बैंकबाट कर्जा लिएरै कम्पनीले उत्पादनको काम गर्दै गयो । बजारमा पठाएको सामानको करिब ४६ करोड रुपैयाँ उधारो उठेको थिएन । वार्षिक १०० करोड कारोबार गर्ने कम्पनीले ६५ करोड रुपैयाँ बैंकबाट कर्जा लिइसकेको थियो । थप कर्जा दिन बैंकले मानेन ।

अनमोल फिड्समा कँडेलको ७ करोड रुपैयाँ लगानी थियो । २१ जना शेयर साझेदार रहे पनि कम्पनीको ‘डाडु पन्यु’ कँडेलकै हातमा थियो । चितवनका पुराना पोल्ट्री उद्यमी एवं अनमोल फिड्सका तत्कालीन शेयर होल्डर चन्द्रमान श्रेष्ठका अनुसार, व्यावसायिक निर्णयहरू कँडेलले नै गर्थे, अन्य सञ्चालकले उनको प्रस्ताव अस्वीकार गर्दैनथे ।

कँडेलका काका जगन्नाथ कँडेल अनमोल फिड्स प्रालिको सञ्चालक समिति अध्यक्ष थिए । उनका अनुसार, बैंकको कर्जा र उधारोमा कम्पनी भासिएपछि यसको सबैभन्दा धेरै दबाब र तनाव शंकरले नै महसुस गरे ।

हुन पनि अनमोलले बैंकबाट कर्जा लिएर गरेको उत्पादनको मूल्य बजारमै अड्किएको थियो । त्यसमा पनि १० करोड रुपैयाँजति नउठ्ने निश्चित थियो । किनकि, सामान लैजाने फर्म वा सप्लायर्सको सटर बन्द भइसकेको थियो ।

व्यवसायी कँडेल राजनीतिकर्मी पनि थिए । चितवन कांग्रेसको कोषाध्यक्ष भइसकेका उनी आगामी चुनावमा भरतपुर मेयरको दाबेदार थिए । निरन्तरको घाटाले तनावमा परेका उनी कम्पनी बेचेर राजनीतिमा पूर्णकालीन हुन चाहन्थे ।

२०७९ सालको सुरुवाततिर कँडेलले कम्पनी बेच्ने निर्णय गरे । उनका कुनै निर्णयमा नाइँ नास्ति नगर्ने सञ्चालकहरूले कम्पनी बेच्ने प्रस्तावलाई पनि अस्वीकार गरेनन् ।

अनि आए रुङ्गटा

अनमोल फिड्स किन्न पोखराको रेशम एग्रो र काठमाडौंस्थित रुङ्गटा समूहले इच्छा देखाए ।  सुरुमा रेशम एग्रोसित कुराकानी अगाडि बढ्यो । तर, उसले बैंकको कर्जा मिलाउन नसक्ने बताएपछि ‘डिल’ रुङ्गटा समूहतिर सोझियो । प्रदीपकुमार रुङ्गटाको नेतृत्वमा रहेको यो समूहले विराटनगरबाट पोल्ट्रीसँग सम्बन्धित उत्पादन गर्दै आएको छ । अनमोल फिड्सले पनि कतिपय सामान रुङ्गटाको उद्योगबाट किन्ने गरेको थियो । दाना उद्योग संघमा कँडेल प्रथम उपाध्यक्ष र रुङ्गटा द्वितीय उपाध्यक्ष थिए । ‘व्यावसायिक पृष्ठभूमि र आकारको हिसाबले पनि रुङ्गटा समूहलाई कम्पनी बेच्न उचित हुने ठानेर शंकरजीले हामीसँग कुरा गर्नुभयो, हामीले हुन्छ भन्यौँ,’ तत्कालीन सञ्चालक रामचन्द्र गौतमले भने ।

कम्पनीमा २१ जना शेयरकर्ताको १९ करोड १५ लाख रुपैयाँ शेयर थियो । पुस २०७९ मा कँडेल र रुङ्गटाबीच सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डीडीए) गर्ने सहमति भयो । बीके अग्रवाल एण्ड कम्पनीबाट लेखा परीक्षण गराइयो । थापाथलीस्थित रुङ्गटा समूहको कर्पोरेट कार्यालयमा १८ माघमा किनबेचको छलफल भएको थियो ।

अनमोल फिड्सको सम्पत्ति मूल्य तोकियो । जग्गा, भवन, मेसिन, गाडी आदिको ५८ करोड रुपैयाँ, बजारबाट उठाउनुपर्ने ४६ करोडमध्ये १० करोड रुपैयाँ नउठ्ने खालको उधारो भएकाले कटौती गरी ३६ करोड रुपैयाँ, फ्याक्ट्रीमा रहेका उत्पादन १४ करोड गरी १ सय ८ करोड रुपैयाँ सम्पत्ति तय गरियो ।

अनमोल फिड्सले ६५ करोड रुपैयाँ बैंकको कर्जा, २६ करोड रुपैयाँ कच्चा पदार्थ (साहु) को उधारो तिर्नु थियो । शेयरको पुँजी १९ करोड १५ लाख मूल्याङ्कन गरेर शेयर नेटवर्थ प्रतिशेयर ८७ रुपैयाँ निकालियो । ‘गूडविलसहित १ सय १५ प्रतिशेयर किनबेच गर्ने कुराकानी भई तत्काल बैनाबापत १ करोड रुपैयाँ शंकर कँडेलले लिएर कागज गरेका थिए,’ आत्महत्या दुरुत्साहन आरोपमा हाल थुनामा रहेका लेखापाल रावलले भने ।

रुङ्गटासँग सहमति हुँदा कँडेलसहित सञ्चालकहरू कालिकाप्रसाद पण्डित र चन्द्रमान श्रेष्ठ, रुङ्गटाका भतिज राजेश रुङ्गटालगायत थिए ।

अनमोल फिड्सका नाममा अन्य ठाउँमा पनि केही सम्पत्ति थियो । कम्पनीले किनेको पटिहानीको जग्गा सञ्चालक रामचन्द्र गौतमको नाममा थियो । बेलचोकमा रहेको अर्को जग्गा र त्यसमा बनेको घर अनमोल ट्रेडिङ कम्पनी प्रालिको नाममा थियो । तर, त्यो जग्गामा बनेको घर राखेर कँडेलका सालो प्रकाश पौडेलले बैंकबाट ७ करोड ७५ लाख रुपैयाँ ऋण लिएका रहेछन् । पौडेलले युनिक ह्याचरी नामको फर्म सञ्चालन गर्दै आएका छन् । उक्त फर्ममा मृतक कँडेलको पनि लगानी थियो ।

अनमोलको सम्पत्ति धितो राखेर कँडेलका सालोले ऋण लिएको पाइएपछि रुङ्गटाले जग्गा फुकुवा गर्न शेयर धनीहरूलाई नै जिम्मा लगाए । उक्त जग्गा फुकुवाका लागि उनले केही शेयरधनीले पाउनुपर्ने शेयरबराबरको ७ करोड ७५ लाख रुपैयाँ अग्रिम दिए । लेखापाल रावल भन्छन्, ‘पैसा लिने शेयरधनीहरूले पछि प्रकाश पौडेलबाट असुल गर्ने गरी आफ्नो नामको बैंक चेकहरू काटी उक्त कर्जाबापतको ७ करोड ७५ लाख रुपैयाँ प्रकाशलाई दिएर जग्गा फुकुवा गरी अनमोल फिड्सको नाममा नामसारी गरियो ।’

कम्पनीको शेयरमध्ये ८५ प्रतिशत रुङ्गटा र १५ प्रतिशत शेयर शंकर कँडेलको हुने गरी १ अर्ब १५ करोड रुपैयाँ मूल्याङ्कन गरी बैनास्वरूप १ करोड रुपैयाँको चेक कँडेलले बुझेका थिए ।

२० चैत २०७९ मा सञ्चालक समितिले कम्पनी बेच्ने अन्तिम निर्णय गरेको थियो । त्यसपछि अनमोल फिड्स प्रालि प्रदीपकुमार रुङ्गटाको अध्यक्षतामा नयाँ सञ्चालक समितिद्वारा सञ्चालन हुन थाल्यो । सबै शेयरधनीका तर्फबाट १५ प्रतिशत शेयर बाँकी नै रहेकाले शंकर कँडेल पनि सञ्चालक समितिमा सदस्य थिए ।

अनि तनाव

यहाँसम्म सबै कुरा ठीकठाकै थियो । तर, यसपछि जे भयो, त्यसले कँडेललाई मृत्युको बाटो रोज्ने निर्णयसम्म पुर्‍याएको देखिन्छ । पहिल्यैदेखि व्यावसायिक तनावसँगै मानसिक दबाब झेलिरहेका कँडेलका लागि पछिल्ला केही भोगाइले नकारात्मक ‘डोज’ को काम गरेको उनका काका जगन्नाथ बताउँछन् । उनले भने, ‘शंकरले डाक्टरले परीक्षणपश्चात् लेखिदिएको प्रेसक्रिप्सनअनुसार डिप्रेसनको औषधि किनेर लगेका पनि रहेछन् । तर, उक्त औषधि प्रयोग नगरेको हामीलाई पछि थाहा भयो ।’

सम्झौता गर्दा कम्पनीले पार्टीहरूलाई तिर्नुपर्ने करिब २२ करोड रुपैयाँ तिर्न रुङ्गटा तयार भए । पार्टीहरूबाट उठाउनुपर्ने ३६ करोडमध्ये २५ करोड रुपैयाँबराबरको ग्यारेन्टी चेकहरू लिए ।

कँडेललाई नजिकबाट चिन्नेहरूका अनुसार, उनी धेरै काम विश्वासका आधारमा गर्थे । आफूले कम्पनी बेचेको सूचित गराउँदै उधारोवाला पार्टीहरूलाई तिर्नुपर्ने रकमबराबरको चेक काटिदिन उनले आग्रह गरे । ‘पार्टीहरूले हामीसँग पैसा छैन भन्दा शंकरजीले अहिलेलाई चेक काटिदिराख्नू, अरु पछि मिल्दै जान्छ भन्नुभएछ । कुनै बेला आफूलाई विश्वास गरेर उधारो दिएका साहुले भनेको कुरा मानेर पार्टीहरूले चेक काटिदिए,’ तत्कालीन सञ्चालक चन्द्रमान श्रेष्ठले भने ।

यसरी २५ करोड रुपैयाँको चेक ग्यारेन्टी दिए कँडेलले । यो रकम एक वर्षभित्र उठाइसक्ने मौखिक सहमति थियो । ‘शंकरजीले मौखिक अथवा विश्वासमै काम गर्न खोज्नुभयो तर रुङ्गटाले सबै लिखित गरेका थिए, सहीमा भन्नुपर्दा रुङ्गटा माथि थिए’, एक सञ्चालकले भने ।

लिएको केही महिनापछि रुङ्गटाले चेकहरू बैंकमा ‘प्रिजेन्ट’ गर्न थालेको मृतक कँडेलका साला प्रकाश पौडेल बताउँछन् । अनि चेक काटेर दिने पार्टीहरू कँडेलसँग गुहार माग्दै आए- तपाईंको विश्वासमा चेक काटिदियौँ तर बाउन्स गर्न लागे ।

उनका अनुसार, बजारबाट उठाउनुपर्ने रकम रुङ्गटा आफैँले उठाउँदै गए । तर, उठ्न बाँकी रकमका लागि कँडेललाई तनाव दिन थाले । कम्पनीले तिर्नुपर्ने ठाउँमा तिर्न ढिलाइ गरिदिए । यतातिरको तनाव पनि भिनाजु कँडेलमाथि नै परेको पाैडेलको भनाइ छ ।

रुङ्गटाकै तनाव झेल्न नसकेर कँडेल आत्महत्या गर्ने अवस्थामा पुगेको आरोप परिवारजनको छ । ‘कम्पनी किनबेच हुँदा लिनुपर्ने र दिनुपर्ने सम्पूर्ण व्यवहार खरिदकर्ताले गर्ने सहमति थियो तर किनिसकेपछि रङ्गटाले लिनुपर्ने ठाउँको छिटोछिटो लिने र तिर्नुपर्ने ठाउँको आलटाल अनि बेवास्ता गरिदिए । पार्टीहरूले शंकर दाइलाई तनाव दिए । दुईतिरको तनाव सहन नसकेर उहाँले मृत्युको बाटो रोज्नुभएको हो’, मृतक कँडेलका भाइ (काकाका छोरा), जाहेरीकर्ता राजन कँडेलले भनेका छन् ।

तर, कागजातले परिवारजनको आरोपलाई पूर्ण समर्थन गर्दैनन् । नयाँ व्यवस्थापनपछि अनमोल फिड्सले पार्टीहरूलाई दिनुपर्ने ३ करोड २० लाख रुपैयाँ पहिलो चरणमा र ३ करोडबराबरको चेकमार्फत दोस्रो चरणमा भुक्तानी गरिरहेको देखिन्छ । कँडेलले पार्टीहरूलाई तिर्नुपर्ने रकमबापत ५ करोडबराबरको चेकहरू सटही गरिसकेको लेखापाल रावल बताउँछन् । कुनै चेक नसाटिएको भनेर गुनासो आएको थिएन । रुङ्गटाले दिएका अन्य केही चेक साट्न बाँकी नै थियो । कँडेल स्वयम्‌ले बजारबाट उठ्नुपर्ने रकम उठाउन सघाउने बचन दिएको आरोपित रुङ्गटा पक्षको भनाइ छ ।

अनि समातिए रावल 

Jeevan1689230678.jpg
अढाई महिनादेखि थुनामा रहेका जीवनबहादुर रावल ।

१९ वैशाखमा कँडेलले आत्महत्या गरे । सुसाइड नोटमा उनले आफूलाई जीवन रावलले नसघाएको लेखेका थिए । सोही दिन गौरीगञ्जस्थित रावलको घरमा ढुंगामुढा भयो । र, उनी ज्यान जोगाउन भागेर रातारात भारत पुगे । १९ वैशाखको राति नै वीरगञ्जहुँदै रक्सौल पुगेर बसेका उनी बाराको सिमराबाट २१ वैशाखमा पक्राउ परेका थिए ।

कँडेलको अनुकूल काम नगरिदिएकै आरोपमा आफू समातिएको रावल बताउँछन् । भन्छन्, ‘शंकर सर अनमोल फिड्सको मुख्य शेयर होल्डर र प्रबन्ध निर्देशक हुँदा जसरी मैले उहाँका सबै निर्देशन इमानदारीपूर्वक मान्नुपर्ने हुन्थ्यो, प्रदीप सरले अनमोल फिड्स किनेपछि मैले उसैगरी उहाँका व्यावसायिक निर्देशनको पालना गर्नुपर्ने हुन्थ्यो । शंकर सरले भनेअनुसार काम गरेको भए भोलि मै अप्ठेरोमा पर्थें । मैले त भोलि लिखतमा हिसाब देखाउनुपर्छ । शंकर सरले मौखिक निर्देशन दिनुहुन्थ्यो, त्यसरी गर्न सकिँदैन भन्नु मेरो गल्ती कसरी हुन्छ ?’

रुङ्गटालाई कँडेलविरुद्ध कुरा लगाएको आरोपको खण्डन गर्दै उनी भन्छन्, ‘बिनाकागज वा मौखिक काम गर्दिनँ भनेको हुँ । कम्पनीको यथार्थ हिसाबकिताब नयाँ व्यवस्थापनलाई ब्रिफिङ गरेको हुँ । यो मेरो कर्तव्य थियो ।’

आफूले कँडेललाई तनाव दिने उद्देश्यले कुनै काम नगरेको बरु कर्मचारीका रूपमा बफादारीपूर्वक काम गरेको रावलको भनाइ छ ।

कम्पनी रुङ्गटाले किनेपछि धेरै कर्मचारीलाई राजीनामा दिन लगाइए पनि सम्पूर्ण हिसाबकिताबबारे जानकार भएकाले रावल हटाइएका थिएनन् । बरु १ वैशाखदेखि उनले फ्याक्ट्रीमा प्लान्ट म्यानेजरको जिम्मेवारी पाए ।

रावलका अनुसार, बजारबाट उठ्नुपर्ने रकममध्ये ठूलै हिस्सा कँडेलको स्वयम् र उनका आफन्तको लगानीमा रहेका ह्याचरीले तिर्नुपर्ने थियो । ‘युनिक ह्याचरी चितवन, हाइबर्ड ह्याचरी, नवगंगा दाना उद्योग र गौतम पोल्ट्रीले अनमोललाई ११ करोड रुपैयाँ बाँकी तिर्नु छ’, रावलले भने ।

कँडेलको समेत लगानी रहेको युनिक ह्याचरी उनकै सालो प्रकाश पाैडेलको हो । नवगंगा दाना उद्योगमा पनि कँडेलको लगानी छ, उक्त उद्योग अनमोल फिड्सका मार्केटिङ अफिसरसमेत रहेका तुल्सीराम गाैतमको हो । हाइबर्ड ह्याचरीमा पनि शंकर कँडेलको लगानी छ ।

‘लामो समय कँडेल सरसँगै काम गरेको थिएँ, उहाँले आत्महत्या गर्दा म पनि दु:खी भएँ । मैले आफ्नो ड्युटी निर्वाह गर्दा उहाँले असहयोग गरेको ठान्नुभएछ । म समातिएँ तर यसरी महिनौँसम्म थुनिनुपर्ने अपराध मैले गरेको छैन, यसमा म प्रस्ट छु,’ उनले भने ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपठी यस्ता मुद्दामा अदालतले सकेसम्म छिटो निर्णय दिनुपर्ने बताउँछन् । ‘न्यायमा ढिलाइ हुनुहुँदैन । यस्ता मुद्दामा न्यायालयले सकेसम्म छिटो निर्णय दिनुपर्छ,’ त्रिपाठीले  भने ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार, आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गरेमा त्यसो गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । साथै, कसुरदारबाट पीडित व्यक्तिको हकवालालाई मनासिब क्षतिपूर्ति भराउनुपर्ने प्रावधान छ ।

भिडियोमा नाम किटेर पुडासैनीले लगाएको आरोपमा अदालतको आदेशले २०७६ सालमा लामिछाने ५ लाख धरौटी तिरेर निस्किए र वर्ष दिनपछि सफाइ पाए । तर, सोही जिल्लामा आफूलाई कारोबार मिलाउन सहयोग नगरेको आरोप लगाएर कँडेलले सुसाइड नोटमा नाम लेखेका आधारमा अढाइ महिनादेखि रावल कारागारमा अदालतको अन्तिम निर्णय कुरेर बसिरहेका छन् ।

शिलापत्र

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस