Nirvik Khabar

सांगीतिक दुनियाँमा छाउँदै रश्मी राई

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छिन् । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि साङ्गीतिक यात्रा शुरु गरेकी गायिका रस्मीले तीन दर्जनबढी नेपाली गीत रेकर्ड गरिसकेकी छन् ।

शङ्कर अधिकारीको शब्द तथा पुष्कर सुनुवारको सङ्गीत रहेको पहिलो नेपाली भाषाको गीत गाएकी गायिका रश्मीले चाम्लिङ, कोयू, बान्तवा र मैथिली भाषाको गीतसमेत गाएकी छन् । साङ्गीतिक यात्रा शुरु गरेको छोटो समयमै आफूले पाएको सफलता र दर्शक/श्रोताको मायाले साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न थप प्रेरणा मिलेको गायिका रश्मीले बताएकी छन् ।

लोक, आधुनिक र पूर्वेली लोक भाकाका गीत गाएर साङ्गीतिक दुनियाँमा छाएकी गायिका रश्मीले ‘नेशनल ईन्टरटेन्मेन्ट अवार्ड २०२२’ समेत हात पारिसकेही छन् । ‘सायद मैले सोचेजस्तै’ बोलको आधुनिक गीतमार्फत गायिका रश्मीले पपुलर आधुनिक गायिकाको उपाधि हात पारेकी हुन् ।

बाल्यकालदेखि नै साङ्गीतिक मोहमा लागेकी उनी सङ्गीतमै भविष्य बनाउने सपना बोकेर काठमाडौँमा साङ्गीतिक सङ्घर्ष गरिरहेकी छन् । बुबा प्रसाद राई र आमा धनकुमारी राईकी चार छोरीमध्ये जेठी छोरी उनले बढीजसो युवापुस्ताले रुचाउने गीतमा स्वर दिएकी छन् ।

गायिका रश्मीले ‘भञ्ज्याङखर्क डाँडै डाँडा हावा चल्यो सुसाउँदै’ बोलको गीत ‘राई इज किङ’को उपाधि प्राप्त गायक राजेश पायल राईसँग गाएकी छन् । अम्बर विष्टको शब्द तथा शशी गुरुङ ‘बाङ्देल’को सङ्गीत रहेको ‘भञ्ज्याङखर्क डाँडै डाँडा हावा चल्यो सुसाउँदै’ बोलको गीतमा जिल्लाको दक्षिणी क्षेत्रका पर्यटकीयस्थलको वर्णन गरिएको छ ।

उनले गाएको रोज लामा योञ्जनको शब्द र सुवास चाम्लिङको सङ्गीत रहेको ‘तिम्रो नयन’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो निक्कै चर्चामा छ । मेगना मगरातीको छायाँकन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा विशाल लिम्बू र शिखा राईको अभिनय रहेको छ ।

‘पहाडको माथि-माथि’, ‘जुनको फूल’, ‘कुर्दै होला’, ‘प्रेम युद्ध’, ‘जब तिमीसँग’, ‘फूलमा पनि’, ‘माया सधैँ’, ‘भेडेटारमुनि सुन्दर धरान बजार’, ‘धरानै शहरको भानुचोकैमा’, ‘सेवा सेवारो’, ‘ओ लुङा सेवारो-सेवारो’, ‘उभौलीको साकेलामा भेट भयो’ लगायतका तीन दर्जन बढी लोक तथा आधुनिक गीत बजारमा ल्याइसकेकी गायिका रश्मीको ‘गाउँ घरै सुन्ने भो’ र ‘दश औँली नमस्ते’ बोलको गीत भर्खरै रेकर्डिङ भएको छ ।

यही हप्ता रेकर्डिङ सकिएको राजकुमार राई ‘द कमाण्डो’को शब्द तथा सङ्गीत रहेको ‘गाउँ घरै सुन्ने भो’ र अर्जुन भट्टराईको शब्द तथा शशी गुरुङको सङ्गीत रहेको ‘दश औँली नमस्ते’ गीत केही दिनपछि सार्वजनिक हुने उनले जानकारी दिइन् ।

साङ्गीतिक क्षेत्रबाटै परिवारको घरखर्चसमेत धान्दै आएकी उनी विभिन्न ठाउँमा आयोजित स्टेज प्रोग्राम (स्थलगत कार्यक्रम)मा पनि उत्तिकै जम्ने गरेकी छन् । गायिका रश्मीको स्वरमा सजिएको दर्जनबढी लोक तथा आधुनिक गीतमा निर्माण गरिएको म्यूजिक भिडियोसमेत बजारमा आएको छ ।

साङ्गीतिक भूमि भनेर चिनिने खोटाङका गायिका रश्मीसँगै दर्जनौँ युवा साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य खोजिरहेका छन् । केही छोटो समयमै स्थापित भएका छन् भने, केही गुम्नाम बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस