भरतपुर – चितवनको भरतपुरस्थित नारायणी नदीकिनारमा आगामी मंसिर २ गतेदेखि १७ गतेसम्म ‘नारायणी महोत्सव २०८३’ आयोजना हुने भएको छ। रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको महोत्सवलाई यस वर्ष थप आकर्षक र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
हालै आएको बाढी तथा वर्षाका कारण नारायणी नदीकिनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए। महोत्सव आयोजना गर्नुअघि आयोजक संस्थाले आफ्नै स्रोत, साधन र लगानीमा आवश्यक मेसिनरी तथा जनशक्ति परिचालन गरी नदीकिनारको पुनःस्थापना, सरसफाइ, जमिन सम्याउने र सौन्दर्यीकरणको काम सम्पन्न गरेको जनाएको छ।
आयोजकका अनुसार नदीकिनारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै पर्यटन तथा सार्वजनिक गतिविधिका लागि उपयोगी क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पुनःस्थापनाको काम गरिएको हो।
यस वर्षको महोत्सवमा आकर्षक पिरामिड शैलीको प्रवेशद्वार, हट एयर बेलुन, जिरो ग्र्याभिटी राइडलगायतका मनोरञ्जनात्मक गतिविधि मुख्य आकर्षणका रूपमा रहनेछन्। हट एयर बेलुन आवश्यक अनुमति तथा सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल तथा राइडसमेत सञ्चालन गरिनेछ।
त्यस्तै, महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार रहनेछन्। यसबाट स्थानीय व्यवसायी, उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ।
महोत्सवमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर दिने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यसमेत महोत्सवले राखेको छ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिने आयोजकले जनाएको छ। सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताइएको छ।
आयोजक रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.ले नारायणी नदीकिनारको पुनःस्थापना र महोत्सवलाई भरतपुरको पर्यटन, व्यापार तथा मनोरञ्जन प्रवर्द्धनसँग जोडिएको साझा अभियानका रूपमा अघि बढाइएको जनाएको छ।महोत्सव मंसिर २ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।

































Discussion about this post