Nirvik Khabar

उपत्यकासहित देशैभर डेङ्गीका बिरामी बढे, उपत्यकाका सबैजसो सरकारी अस्पतालमा बिरामी

काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गी ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ ।विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गी ज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गीका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए ।

अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गीका बिरामी भर्ना भएको उनले बताए । “यहाँ दैनिक डेङ्गीका बिरामी भर्ना भइरहेका छन्”, उनले भने,“घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डेङ्गीको सङ्क्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गी बढेको बताउँछन् । त्यसपछि अहिले नै डेङ्गीका बिरामी बढेको उनको भनाइ छ । बीचका वर्षमा पनि डेङ्गीका फाट्टफुट्ट बिरामी भेटिइरहे ।

तराई–मधेशमा बढी देखिने डेङ्गी २०१८ पछि भने पोखरा, काठमाडौं जस्ता पहाडी सहरमा पनि देखा पर्यो । “उपत्यकामा लामखुट्टे बढेको र डेङ्गीका बिरामी पनि उपत्यका प्रवेश गरेका छन्”, उनले भने, “ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।”

निजामति कर्मचारी अस्पतलाका निर्देशक डा विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारी दिए । उनका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालले डेङ्गीबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ ।

“तापक्रम बढेसँगै अहिलेको मौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी’ र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टको टोकाइले डेङ्गी रोग लाग्दछ”, उनले भने, “उपत्यकामा पहिले भन्दा अहिले तापक्रम बढेकाले धेरै बिरामी देखिएका हुन ।”

उनका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेङ्गीको सङ्क्रमण जोखिम बढी हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा बाँस्तोलाका अनुसार समुदायस्तरमा १० हजार मानिस डेङ्गीबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले सङ्क्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेङ्गी ज्वरोका लक्षण देखिन्छन् ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन् । डेङ्गी ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।

यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसेका अनुसार अस्पतालमा अहिले २२ जना डेङ्गीका बिरामीको उपचार भइरहेको छ । उनले अहिलेको मौसम नै पानी जम्ने र उक्त पानीमा लामखुट्टे बढी फैलिने भएकोले डेङ्गुको सङ्क्रमण देखिएको बताए ।

उनले डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको जानकारी दिए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजार एक सय आठ जनामा डेङ्गीका बिरामी देखिएको छन् । जेठयता काठमाडौँमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जना डेङ्गीका बिरामी भेटिएका छन् ।

साउनमा मात्रै काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको उनले जानकारी दिए । अहिलेदेखि फैलिन शुरु भएको डेङ्गीको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्दछ । सर्वप्रथमतः हाम्रो घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ ।

एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गी सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गीको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझ–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस