Nirvik Khabar

कृष्णाष्टमीमा मयूरको प्वाँखको अवैध व्यापार !

Advertisements
Single Page Long - 2

पाटनको कृष्णमन्दिरमा शुक्रवार दर्शन गर्न लाइनमा उभिरहनुभएकी कल्पना सुवेदीको हातमा धुपबत्ती र फूलसँगै मयूरको दुईवटा प्वाँख पनि थियो । ‘हामीले पहिलेदेखि नै कृष्णजीलाई चढाउने गरेका छौँ’ उहाँले भन्नुुभयो ।

मयूरको प्वाँख वा अरु जनावरको रौँ, प्वाँख, हड्डी तथा छाला बोक्न र यसरी चढाउन मिल्दैन । तर यसबारेमा आफूलाई थाहा नभएको बताउँदै सुवेदी भन्नुहुन्छ, ‘यस बारेमा हामीलाई केही पनि थाहा छैन । पहिलेदेखि चढाएको भएर चढाउन हिँडेका हौँ । अरु त्यस्तो केही पनि थाहा छैन ।’

कुनै पनि जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो । तर, कानुनले अवैध भने पनि कृष्ण अष्टमीको दिन कृष्ण मन्दिर परिसरमा मयूरको प्वाँख हातमा लिएर दर्शन गर्न लाइन बसेका भक्तजन अनि वरपर प्वाँख बेच्नेको भिड देख्दा यो कानुनमा बन्देज छैन कि जस्तो देखिन्थ्यो ।

वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा काम गरिरहेको गैरसरकारी संस्था ग्रिनहुड नेपालले कृष्ण अष्टमीमा मयूरको प्वाँख बेचबिखन हुने सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा लेखेको छ, ‘कृष्ण जन्माष्टमीको समयमा मन्दिर वरपर मयूरको रङ्गीन प्वाँख किनबेच भइरेहेको देख्नुभयो होला । तपाईँले पनि किन्नु भयो कि ? तर, कानुनले मयूरको प्वाँख किनबेच वर्जित गरेको छ । ५ वर्ष जेल र १ लाख रुपयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ । सचेत बनौँ र वन्यजन्तु संरक्षणमा सहयोग गरौँ ।’

तर, श्रीकृष्ण जन्माष्टमीमा भगवान कृष्णको दर्शन गर्न बसेका प्रायजसाे भक्तजनमा जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो भन्ने कुराको ज्ञान नभएको पाइयो ।

ललितपुर इमाडोलबाट भगवान श्रीकृष्णको दर्शन गर्न आउनु भएकी पार्वती शर्माको हातमा पनि धुप, बत्ती अनि फूलसँगै मयूरको दुई वटा प्वाँख थियो । कृष्णजीलाई मयूरको प्वाँख चढाउँदा राम्रो हुन्छ भन्ने सुनेर चढाउन एउटा प्वाँख २० रुपैयाँमा किन्नु भएकी शर्मालाई पनि यसरी प्वाँखको कारोबार गैरकानुनी हो भन्ने कुरा थाहा छैन । उहाँ भन्नुहुन्छ, ‘हामीले त राम्रो हुन्छ भनेर चढाउन किनेको हो । गैरकानुनी हो भन्ने हामीलाई थाहा छैन । गैरकानुनी भए यत्रा प्रहरीका अगाडि बेच्न चाहिँ किन दिएको त ? बेच्नेलाई पनि कारबाही हुनुपर्यो नि ।’

सुवेदी र शर्मा त प्रतिनिधि पात्र मात्र हुन् । कृष्ण मन्दिर परिसरमा श्रीकृष्णको दर्शन गर्न लाम लागेका प्रायजसाेमा यो काम कानुनद्वारा वर्जित हो भन्ने कुरामा अनभिज्ञता देखियो । साथै मयूरको प्वाँख बिक्री गर्न बसेका बिक्रेताहरु पनि यस सम्बन्धी कानुनका बारेमा जानकार नभएको पाइयो ।

वसन्तपुर बस्ने धादिङकी उर्मीला घिमिरे आफूले बेच्न ल्याएको मयूरको प्वाँख धादिङको जङ्गलबाट खोजेर ल्याएको बताउनुहुन्छ । धादिङको जङ्गलमा आफूले करिब १ वर्ष लगाएर प्वाँख जम्मा गरेको उहाँले बताउनुभयो । करिब १ हजार प्वाँख बेच्न ल्याएकोमा धेरै बिक्री भएको र बाँकी रहेको प्वाँख अर्को वर्ष काम लाग्ने उहाँले बताउनुभयो ।

जङ्गलमा मयूर उड्दा प्वाँख छोड्ने भएका कारण प्वाँख सङ्कलन गर्दा केही फरक नपर्ने बताउँदै घिमिरे अगाडि भन्नुहुन्छ, ‘यो बेच्न नपाइने भन्ने हामीलाई थाहा छैन । हामीले मयूरलाई दुःख दिएर, समाएर ल्याएको होइन । अब अरु धेरै ल्याउनेले त्यसो गर्छन् कि हामीलाई थाहा भएन ।’

वसन्तपुरबाट प्वाँख बेच्न आउनु भएकी सुन्तली घिमिरेले १ हजार प्वाँख ल्याएकोमा झन्डै ५ सय बेचिसकेको बताउनुभयो । अघिल्लो वर्ष एउटाको २५/३० रुपैयाँमा बेचे पनि यस पटक भने २० रुपैयाँमा बेचेको बताउने घिमिरे भन्नुहुन्छ, ‘पोहोर त भाउ आएको थियो । अहिले त भाउ नै आएन । के गर्नु जसरी पनि बेच्नै पर्यो ।’

मयूरको प्वाँखको कारोबार गैरकानुनी भएको बारे अनभिज्ञता प्रकट गर्दै घिमिरे भन्नुहुन्छ, ‘खोइ हामीलाई त केही थाहा छैन । हामीले त साहुकोबाट ल्याउने हो । बेच्ने हो ।’

कालीमाटीबाट मयूरको प्वाँख बेच्न ल्याएको बताउने राजकुमार थापा भन्नुहुन्छ, ‘प्वाँख भारतबाट आउँछ । त्यसको होलसेल कालीमाटीमा छ । हामीले कालीमाटीबाट ल्याएका हौँ ।’

होलसेलबाट एउटाको १२/१३ रुपैयाँमा ल्याएर १५/२० रुपैयाँमा बेचेको उहाँले बताउनुभयो । आफ्नो नियमित काम नभएर एक दिनका लागि यसो पकेट खर्च आउँछ भनेर बेच्न आएको बताउने थापा भन्नुहुन्छ, ‘महँगो भो भन्छन् बार्गेनिङ गर्छन् । अब बाँकी भएको साहुलाई लगेर दिने हो ।’

प्वाँख बेच्नु गैरकानुनी हो भन्ने सुने पनि आफूले गैरकानुनी काम नगरेको बताउँदै थापा भन्नुहुन्छ, ‘यो एक दिनको लागि मात्र हो । मयूर मारेर प्वाँख निकालेर बेच्यो भने सरकारी कानुन लाग्छ । गैरकानुनी काम नै हो । तर, भारतबाट आएको र सबैले भगवानलाई चढाउने हिसाबले आज एक दिनमात्र यो काम गरेको हो ।’

कृष्ण भगवानको विशेष पूजाको लागि एक दिन चढाउने र कृष्ण भगवानले श्रीपेच बनाएर लगाउने कारणले यो गैरकानुनी नभएको भन्ने तर्क पेस गर्दै थापा भन्नुहुन्छ, ‘हामी हिन्दुहरु भगवानको साङ्गे गर्दा पनि हरेराम हरेकृष्ण भनेर मुजुरको प्वाँख हल्लाएर गरेका हुन्छौँ ।’

मयूरलाई काटमार गर्ने नभइ नाच्दा झर्ने र कृष्ण भगवानलाई प्रसादका रुपमा लगेर मन्दिरमा चढाउने भएका कारण पनि गैर कानुनी नभएको भन्ने थापाको अर्को तर्क थियो ।

आफू भारतको महाराष्ट्रमा रहेको मयूर फर्ममा कामसमेत गरेर आइसकेको बताउँदै थापा भन्नुहुन्छ, ‘त्यहाँ मयूर नाचेपछि झरेको प्वाँख टिप्ने काम धेरै नेपालीले गर्छन् । झरेको प्वाँख टिपेपछि त्यसलाई काँटछाँट गर्ने काम पनि हुन्छ । यो त नेपालभन्दा पनि थाइल्यान्ड, म्यानमार लगायत बुद्ध धर्म मान्ने देशमा धेरै जान्छ।’

मयूरको औसत आयु २० वर्षको मानिन्छ । यसको पुच्छरमा करिब १ सय ५० वटा जति प्वाँख हुन्छ । यसको प्वाँखको लम्बाइ बढीमा ६ फिटसम्मको हुन्छ।

 

अन्तिम अपडेट: भदौ ४, २०७९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस