काठमाडौं । लन्डनस्थित ग्लोबल नागरिकता र निवास सल्लाहकार फर्म हेन्ले एन्ड पार्टनर्सले जारी गरेको नयाँ त्रैमासिक प्रतिवेदनले नेपालको पासपोर्ट (राहदानी) विश्वकै सबैभन्दा खराबमध्येको सातौं स्थानमा राखेको छ ।
कुन देशको राहदानीले कति देशमा फ्रि भिसा अथवा मागेकै बेला भिसा प्रदान गर्छ भन्ने मुख्य आधारमा तय गरिएको पासपोर्ट क्षमता अनुसार जापान पहिलो नम्बरमा रहेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट हुने तीन देश जापान, सिंगापुर र दक्षिण कोरिया एसियाली देश हुन् ।
सबैभन्दा शक्तिशाली जापानी राहदानी भएका व्यक्तिले विश्वका १९३ देश र क्षेत्रमा फ्री भlसामा भ्रमण गर्न सक्छन् । यस्तै दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट हुनेहरुले विश्वका १९२ गन्तव्यमा फ्री भिसा भ्रमण गर्न सक्छन् ।तेस्रोमा जर्मनी र स्पेनको पासपोर्टले १९० गन्तव्यमा फ्री भिसा उपलब्ध गराउँछ ।
सबैभन्दा खराब, कमजोर वा कम फ्री भिसा हुने देशको सातौं स्थानमा नेपाल रहेको छ । सबैभन्दा खराब अफगानिस्तानको पासपोर्ट हुनेहरुका लागि विश्वका २७ देश र क्षेत्रमा फ्री भिसा उपलब्ध छ ।
यस्तै दोस्रो खराब अथवा कमजोर इराकको पासपोर्ट हुनेहरुले २९ गन्तव्यमा फ्री भिसा पाउँछन्, तेस्रोमा सिरिया ३०, पाकिस्तान ३२, यमन ३४, सोमालिया ३५ र सातौंमा नेपाल र प्यालेस्टाइन क्षेत्रको पासपोर्ट हुनेहरुका लागि ३८ देश र क्षेत्रको फ्री भिसा उपलब्ध छ । आठौं नम्बरमा ४० देशको फ्री भिसा उपलब्ध रहेको उत्तर कोरियाको पासपोर्ट रहेको छ ।
कुल ११२ देशमध्ये खराब पासपोर्ट हुनेमा नेपाल १०६ नम्बरमा रहेको छ । सबैभन्दा राम्रो जापान एक नम्बरमा र अफगानिस्तान ११२ औं नम्बरमा रहेको छ ।
आफ्ना नागरिकहरूलाई प्रदान गर्ने पहुँचका आधारमा विश्वव्यापी राहदानीहरू क्रमबद्ध गर्नका लागि हेन्ले एण्ड पार्टनरले सिर्जना गरेको धेरै सूचकांकहरू मध्ये एक हो ।एसियाली शीर्ष तीन देश बाहेक धेरै जसो युरोपेली देशहरूको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएका छन् । ६० देशको फ्री भिसा उपलब्ध भारत ६० औं नम्बरमा रहेको छ । ८० देशको फ्री भिसा प्रदान गर्ने चीनको पासपोर्ट ६९ औं नम्बरमा रहेको छ ।
हेर्नुहाेस् सुची:
Discussion about this post