पोखरा। पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका सञ्चालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार बिहान बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पीडित परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइसकेको छ।
शिला फेन्सी स्टोर्समा जागिर खुलेको थाहा पाएपछि उनी त्यहाँ पुगेकी थिइन्। गौतमले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म काम गर्नुपर्ने भन्दै असार १५ गतेदेखि हाजिर हुन भनेका थिए। पीडित नाबालिग बुधबार बिहान ८ बजे नै उक्त फेन्सी स्टोर्स पुगेकी थिइन्।
बिहान साढे ८ बजेतिर स्टोर्सका सञ्चालक गौतमले काम सिकाउने भन्दै पीडित नाबालिगलाई माथिल्लो तलामा लिएर गए। माथिल्लो तलामा लैजाने क्रममा गौतमले नाबालिगको संवेदनशील अंगमा हात लगेर यौन दुर्व्यवहार गरेको पीडित परिवारले जनाएका छन्। नाबालिग चिच्याएपछि आजकलको जमानामा यस्तो कुरा समान्य भएको भन्दै गौतमले फकाउन खोजेको उनीहरूको भनाइ छ।
उक्त घटनापछि नाबालिगले परिवारलाई गएर घटनाबारे जानकारी गराएकी थिइन्। सोही आधारमा प्रहरीमा जाहेरी दिएको पीडित परिवारले बताएका छन्। प्रहरीमा जाहेरी दिएको २ घन्टाभित्रै गौतम पक्राउ परेका थिए।
Discussion about this post