काठमाडौँमा जारी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज (बिहीबार) दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्दै छन्।यस्तै साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन्।
पोखरा र विराटनगर दुवै टोलीका लागि आजको खेल ‘प्लेअफ’ सम्भावना जीवित राख्न महत्त्वपूर्ण छ।छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित हासिल गरेको छ भने तीन खेल हारेको छ।तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चार हारेको छ भने एक खेलमा मात्र जित दर्ता गरेको छ।
दोस्रो खेलमा प्लेअफ सम्भावना कायमै राख्न कर्णाली याक्स जित्नैपर्ने दबाबमा छ।तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुई खेलमा मात्र जित हात पारेको छ।लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ।
अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको छ।एनपीएलको जारी संस्करणमा पनि आठ टोली सहभागी छ। प्रतियोगिता मंसिर ५ सम्म सञ्चालन हुनेछ ।

































Discussion about this post