Skip to main content

Nirvik Khabar

गैँडाकोट नमूना माविमा गुनासो सुनुवाइ समिति गठन

Advertisements
Single Page Long - 2

गैँडाकोट, नवलपरासी (पूर्व) — विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायबाट प्राप्त गुनासा, सुझाव र समस्यालाई व्यवस्थित तथा प्रभावकारी रूपमा सम्बोधन गर्न गैँडाकोट नमूना माध्यमिक विद्यालयले गुनासो सुनुवाइ समिति गठन गरेको छ।

गुनासो सुनुवाइ कार्यविधि, २०७४ (पहिलो संशोधन २०७७) को परिच्छेद–४, दफा ७ बमोजिम गठित समितिको संयोजकमा विद्यालयकी संस्थापक सुनीता नेपाल रहेकी छन्। प्रिन्सिपल गोपेन्द्र केशरी न्यौपाने सह–संयोजक, शिक्षक–अभिभावक संघका अध्यक्ष राजेन्द्र राना सदस्य तथा विद्यार्थी प्रतिनिधिका रूपमा साहिल न्युरे र प्रतिमा भण्डारी सदस्य छन्।

त्यस्तै, अभिभावक प्रतिनिधिका रूपमा आरती कट्टेल र गुनासो सुन्ने शिक्षकका रूपमा सरिता खनाल सदस्य–सचिव तोकिएका छन्।

विद्यालयले विद्यार्थी तथा अभिभावकका गुनासा र सुझाव संकलन गर्न गुनासो पेटिकासमेत स्थापना गरेको छ। लिखित रूपमा आफ्ना गुनासा तथा सुझाव राख्न सकिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

गुनासो पेटिकामै राखिएको क्यूआर कोड स्क्यान गरेर डिजिटल माध्यमबाट गुनासा तथा सुझाव पठाउन सकिने व्यवस्था पनि गरिएको छ। त्यस्तै, विद्यालयको ‘Namuna App’ मा रहेको ‘Feedback’ विकल्पमार्फत समेत प्रतिक्रिया, सुझाव वा गुनासा पठाउन सकिने विद्यालयले जनाएको छ।

विद्यालयका भाइस प्रिन्सिपल चन्द्र केसीका अनुसार विद्यार्थी तथा अभिभावकलाई आफूलाई सहज लाग्ने माध्यमबाट गुनासा राख्न सक्ने वातावरण बनाउन विभिन्न विकल्प उपलब्ध गराइएको हो।

‘विद्यार्थी तथा अभिभावकले आफूलाई सहज लाग्ने माध्यमबाट आफ्ना गुनासा, सुझाव वा प्रतिक्रिया राख्न सक्ने व्यवस्था गरेका छौँ,’ केसीले भने, ‘लिखित गुनासोका लागि गुनासो पेटिका, क्यूआर कोडमार्फत डिजिटल रूपमा तथा हाम्रो आफ्नै Namuna App को Feedback विकल्पबाट पनि गुनासा तथा सुझाव पठाउन सकिन्छ।’

उनका अनुसार गुनासो राख्ने प्रक्रियालाई सहज, गोपनीय, सुरक्षित र विद्यार्थीमैत्री बनाउने उद्देश्यले व्यवस्था गरिएको हो। प्राप्त गुनासामाथि सम्बन्धित प्रक्रिया र जिम्मेवार निकायमार्फत आवश्यक सुनुवाइ तथा सहजीकरण गरिने उनले बताए।

प्रिन्सिपल न्यौपानेले गुनासो सुनुवाइ प्रणाली विद्यालयको सुशासन, पारदर्शिता र बालमैत्री वातावरण निर्माणको महत्वपूर्ण आधार भएको बताए।

‘विद्यार्थीको आवाज सुन्ने, उनीहरूका समस्या बुझ्ने र उचित प्रक्रियाबाट समाधान गर्ने संस्कारलाई विद्यालयमा संस्थागत गर्न हामी प्रतिबद्ध छौँ,’ उनले भने, ‘गुनासोलाई समस्या मात्र नभई विद्यालय सुधारको अवसरका रूपमा लिन्छौँ।’

मावि तह प्रमुख धनिशोर गौतमले विद्यालयमा प्रभावकारी गुनासो सुनुवाइ प्रणाली हुनु विद्यार्थीको सिकाइ र समग्र विकासका लागि महत्वपूर्ण रहेको बताए। विद्यार्थीले आफ्ना समस्या, असहजता वा सुझाव समयमै राख्न सक्ने वातावरण बनेमा समस्या जटिल हुनुअघि नै पहिचान गरी समाधान गर्न सहज हुने उनको भनाइ छ।

‘विद्यार्थीले आफ्ना कुरा खुलेर राख्न पाउने वातावरण नै स्वस्थ शैक्षिक वातावरणको आधार हो। गुनासो राख्नु कमजोरी होइन, विद्यालय सुधारमा विद्यार्थीको सहभागिता हो,’ गौतमले भने।

गुनासो सुनुवाइ कार्यविधिअनुसार समितिले विद्यालयमा प्राप्त लिखित, मौखिक तथा अन्य माध्यमबाट आएका गुनासोको सुनुवाइ गर्नेछ। आवश्यक छानबिन तथा समाधानका लागि सहजीकरण गर्ने, सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने र गुनासोसँग सम्बन्धित अभिलेखको गोपनीयता कायम गर्ने जिम्मेवारी पनि समितिको हुनेछ।

कार्यविधिले विद्यार्थीका गुनासा संकलनका लागि गुनासो पेटिका राख्नुपर्ने तथा विद्यार्थीलाई गुनासो राख्न सहयोग र प्रोत्साहन गर्नुपर्ने व्यवस्था गरेको विद्यालयले जनाएको छ।

गुनासो पेटिका, क्यूआर कोड र Namuna App को ‘Feedback’ विकल्पमार्फत विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाको आवाज विद्यालय व्यवस्थापनसम्म सहज रूपमा पुर्‍याउने व्यवस्था गरिएको विद्यालयको भनाइ छ।

विद्यालय प्रशासनले नयाँ व्यवस्थाले विद्यार्थी तथा अभिभावकलाई आफ्ना समस्या र सुझाव व्यक्त गर्न सहज वातावरण निर्माण गर्नुका साथै विद्यालयमा उत्तरदायित्व, पारदर्शिता, सहभागिता र विश्वासको संस्कृति विकासमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस