रूपन्देही । नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन् । थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोलका करिब १७० घरधुरीमा बाढी प्रवेश गरेपछि नेपाल प्रहरीले बाढी प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई तीव्र बनाएको छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रबाट वृद्धवृद्धा, महिला तथा बालबालिका सहित करिब ४०० जनालाई सुरक्षित रूपमा विपद् व्यवस्थापन भवनमा स्थानान्तरण गरेको छ । नदीको बहाव बढ्ने क्रम जारी रहेकाले थप जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यसमेत भइरहेको छ ।
बाढीका कारण इलाका प्रहरी कार्यालय, सुस्ता परिसरसमेत डुबानमा परेपछि कार्यालयमा रहेका हातहतियार तथा अन्य प्रहरी सामग्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय सुस्ता, इलाका प्रहरी कार्यालय बेलाटारी, सशस्त्र प्रहरी बल, बिओपी सुस्ता तथा नेपाली सेनाको टोली विपद् उद्धार सामग्रीसहित परिचालन भएका छन् । हालसम्म मानवीय तथा पशुचौपायको कुनै क्षति भएको छैन ।


































Discussion about this post