Skip to main content

Nirvik Khabar

चार सय शवको डीएनए रिपोर्ट तयार, अझै लाग्नसक्छ अढाई महिना

Advertisements
Single Page Long - 2

भोटेकोसीमा बाढी आएको १८औँ दिनसम्म पनि हजारौँ व्यक्ति बेपत्ता छन्। यतिका दिन कुरेका आफन्तले न सास पाएका छन् न त लासकै टुंगो छ। भोटेकोसीमा ज्यान गुमाएमध्ये हालसम्म भेटिएका अधिकांस शव पनि चिन्न नसकिने अवस्थाका छन्। कसका शव हुन् भन्ने चिन्न नसकेर एक हजार २३० वटा शव जमिनमुनि पुरिएको छ।

शनिबार दिउँसोसम्ममा एक हजार ३८४ जनाको शव फेला परेको छ। तर १०३ वटा मात्रै शवको सनाखत भएर आफन्तलाई बुझाइएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले शव चिन्न सकिन्छ कि भनेर प्रहरीले आफ्नो वेबसाइटमा एक हजार ३३४ वटा शवका तस्बिर अपलोड गरेको बताए। यसअघि आफन्तले वेबसाइटमै राखेका कतिपय तस्बिर हेरेर शवको सनाखत गरेका थिए।

अहिलेसम्म जसले आफन्तको शव पनि पाएका छैनन्, उनीहरू डीएनएको रिपोर्ट पर्खिरहेका छन्। डीएनए परीक्षणका लागि बाढीमा हराइरहेका व्यक्तिका आफन्तको रगत संकलन भइरहेको छ। हालसम्म एक हजार ७७९ जना रगत संकलन गरिएको प्रहरीले जनाएको छ।

डीएनएका लागि रगत दिने आफन्तको संख्या दिनदिनै बढ्दो छ। बाढीपछि चार हजारभन्दा बढी मानिस हराइरहेका छन्। अब अहिलेसम्म भेटिएका शव कसका हुन् भनेर थाहा पाउन डीएनए नै अन्तिम विकल्प देखिएको छ।

 

जमिनमुनि गाडिएका शव।

सनाखत हुन नसकेका शव भने जमिनमुनि पुरिएको छ। पुरिएका शव पनि डीएनए मिलेमा आफन्तलाई निकालेर बुझाउने तयारी छ।
अहिलेसम्म आफन्तको अत्तोपत्तो नलागेपछि कतिपय परिवारले भने जिवित भेटिने आश मारेका छन्। उनीहरूले कुशको शव बनाएरै अन्तिम संस्कार गरिसकेका छन्।

तर, कतिपय भने डीएनए गरेर भए पनि शव लिएर मात्रै अन्तिम संस्कार गर्न कुरिरहेका छन्। दार्चुलाका देवसिंह धामीका परिवारले पनि डीएनएका लागि रगत  दिइसकेका छन्।

टिमुरेबाट बाढीमा परेका सहायक सेनानी देवसिंह जीवित भेटिने सम्भावना कम रहे पनि उनीहरूले अन्तिम संस्कार भने गरिसकेका छैनन्। केही समय डीएनएको रिपोर्ट कुर्ने उनीहरूको योजना छ।

तर रिपोर्ट कहिले आउँछ भन्ने उनीहरूलाई पनि जानकारी छैन। प्रहरी प्रवक्ता काफ्ले अहिलेसम्म चार सय शवको डीएनए रिपोर्ट तयार भइसकेको बताउँछन्।

शवबाट नमुना संकलन गरेर सामाखुशीस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) को ल्याबमा डीएनए परीक्षण भइरहेको छ।

अब शव पहिचान गर्ने विकल्प नै डीएनए भएको र नेपालसँग चार वटा मात्रै उपकरण रहेकाले विभिन्न देशले पनि सहयोग गरेका छन्। कोरियाले दिएका चार वटा उपकरण प्रहरीको ल्याबमा सञ्चालनमा आएका छन्। अरु उपकरण भने जडान गर्नै बाँकी छ।

खुलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख डीएनए विज्ञ निराजन थापाले अहिलेकै हिसावले काम हुँदा साढे दुई महिनाजति डीएनएका लागि समय लाग्ने बताए।

‘एउटा डीएनए गर्नका लागि यति नै समय लाग्छ भन्न सकिने अवस्था छैन। अहिले १२-१३ सय शवको डीएनए गर्नुछ। नास्ट र हाम्रो ल्याबबाट हप्तामा साढे दुई सयसम्म शवबाट र चार सय जति आफन्तको रगतबाट परीक्षण भइरहेको छ। तर कतिपय शवको डीएनए क्लियर नआउने भएकाले फेरि अर्को विधि अपनाउनु पर्छ’, थापाले भने, ‘हाम्रो हिसाबले दुई-साढे दुई महिनासम्ममा सक्ने भन्ने हो। अब कति उपकरण थप हुन्छन् र त्यसले काम गर्छ कि गर्दैन भन्नेले पनि समय निर्धारण हुन्छ।’

यसअघि चीनले दिएका तीन वटा उपकरण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा लगिएको थियो। तर शवको डीएनए गर्नका लागि ती उपकरण प्रयोगमा आएनन्। 

 

यसअघि ल्याएका उपकरणबाट काम नभएपछि चीनियाँ विज्ञ टोलीले अरु मेसिन मगाएको छ। ती उपकरण नेपाल आइसकेका छैनन्।

‘उहाँहरूले यसअघि ल्याएका मेसिन पनि एड्भान्स हुन्। तर यसमा प्रयोग भइसकेको छैन। नास्ट र विधि विज्ञानमा एउटा एउटा मेसिन छ। शवको डीएनए त्यसैबाट भइरहेको छ’, थापाले नेपालखबरसँग भने।

दक्षिण कोरियाले दिएका चार वटा उपकरण प्रहरी प्रयोगशालामा जडान गरिएको छ। ती सञ्चालनमा रहेको प्रहरी प्रवक्ता काफ्लेले बताए। प्रहरीसँग यसअघि दुई वटा उपकरण थिए। तीबाट पनि शवको डीएनए भइरहेको छ।

भारतबाट आएका मेसिन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छन्। जडान गरेर सञ्चालनमा ल्याउन बाँकी छ। ती जडान भए पनि शवको डीएनएका लागि नभएर रगतबाट हुने डीएनएमा मात्रै काम लाग्नेछ।

‘अहिले हामीलाई चुनौती भनेको शवबाट डीएनए गर्न हो। दाँत र हड्डीको केसमा एक पटक गर्दैमा रिजल्ट आउँछ भन्ने छैन। हड्डीमा डीएनएको मात्रा काम हुन्छ। हामीले सय वटाको गर्‍यौं भने ४० वटाको जति पहिलो चरणमा रिजल्ट आउँछ। बाँकी फेरि अर्को मेथडबाट गर्नुपर्ने हुन्छ। दोहोर्‍याइ-तेहर्‍याइ गर्दा समय लागेको हो’, विज्ञ थापाले भने, ‘रगतबाटै हुन्थ्यो भने त दुईदेखि तीन हप्तामा सबै सक्थ्यौँ। हड्डीको त स्याम्पल तयार गर्न नै समय लाग्छ।’

अहिले संकलन गरिएका शवका डीएनए नमुनामध्ये नौ सय जति विधि विज्ञान र नास्टमा पठाइएको छ। बाँकी प्रहरीको ल्याबमा छन्।

हेटौँडामा पनि ल्याब सञ्चालनको तयारी 
डीएनएको रिपोर्ट आउन समय लाग्ने भएपछि नेपाल प्रहरीले प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि ल्याब सञ्चालनको तयारी गरेको छ। अहिले हेटौँडामा उपकरण खरिद गरेर जडानको काम भइरहेको प्रहरी प्रवक्ता काफ्लेले बताए।

ल्याब सञ्चालनका लागि आवश्यक बजेट सरकारसँग माग गरिसकिएको छ। यसअघि प्रहरीसँग एउटा मात्रै ल्याब हुँदा वर्षमा तीन सय जति मात्रै डीएनएको रिपोर्ट आउने गरेको थियो।

यसअघिका विभिन्न आपराधिक घटनाकै दुई हजार आठ सय जति नमुना परीक्षण गर्न बाँकी छ। एउटा शवको डीएनए गर्न चार दिनसम्म लाग्ने फरेन्सिक विज्ञको भनाई छ।

‘कसरी छिटो शव बुझाउन सकिन्छ भनेर हामी विभिन्न विकल्पमा काम गरिरहेका छौँ। हाम्रो क्षमताभन्दा बढी परीक्षण गर्नु पर्दा ढिलाई हुन गएको हो। यसअघि नै परीक्षण बाँकी भए पनि अहिले यस्तो विपद आइलाग्यो। अब जसरी हुन्छ छिटो गर्नै पर्यो’,  प्रहरी प्रवक्ता काफ्लेले भने।

औँठाछाप र अनुहार भिडाएर पनि पहिचानको प्रयास
प्रहरीले शवको डीएनएबाहेक मृतकको औँठाछाप भिडाएर पनि शवको पहिचान गर्ने प्रयास गरिरहेको छ। यसका लागि शवको औँठाछाप लिने र पहिले ती व्यक्तिले विभिन्न प्रयोजनका लागि दिएका औँठाछापसँग भिडाएर पनि पहिचान गर्ने प्रयास भइरहरको प्रहरीले जनाएको छ।

यसका लागि सिंगापुरले पनि एउटा उपकरण दिएको छ। त्यसबाहेक नेपालले आफूसँग भएका उपकरणबाट पनि काम गरिरहेको काफ्लेले बताए।

उनका अनुसार ‘फेसियल डिटेक्सन’ (अनुहार भिडाएर) पनि शवको पहिचान गर्ने प्रयास भइरहेको छ। फेला परेको शव र हराइरहेका व्यक्तिको अनुहार एआई प्रविधिबाट भिडाएर पनि पहिचान गर्न सकिन्छ कि भनेर प्रहरीको टिमले काम गरिरहेको उनले बताए।

शव पहिचानमा सहयोग गर्न चीन, भारत, दक्षिण कोरिया र सिंगापुरबाट उपकरण तथा जनशक्ति आएको छ। तर त्यो जनशक्तिबाट मात्रै सबै काम हुँदैन। नेपाल प्रहरीको टोली पनि बस्नैपर्छ। सबै लागेर काम गरिरहेको भए पनि कहिले सकिन्छ भन्ने यकीन छैन।

‘अब हाम्रो क्षमता पनि विस्तार भइरहेको छ। तर कहिले सकिन्छ भन्ने फिक्स नै नहुने रहेछ। कतिपयको रि-टेस्ट पनि गर्नुपर्ने रहेछ। नमुना संकलन गरिरहेका छौँ। अझै बढ्ने देखिन्छ। चाँडोभन्दा चाँडो गर्ने गरी लागेका छौँ’, काफ्लेले भने।

प्रहरी ल्याबमा भदौ १३ गतेबाट डीएनए परीक्षण सुरु भएको हो। डीएनएको रिपोर्ट आइसकेपछि ‘म्याचिङ’ गरिने र मिलेकाको हकमा यसअघि नै कायम गरिएको नम्बर अनुसार शव हस्तान्तरण गर्ने तयारी छ। तर डीएनए मिलेका शव हस्तान्तरण गर्दै जाने कि सबै एकै पटक गर्ने भन्ने टुंगो लागिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस