गैँडाकोट- गैँडाकोट–२ स्थित गैँडाकोट नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि संस्थागत विद्यालय छात्रवृत्ति छनोट परीक्षा सम्पन्न भएको छ। गैँडाकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको साउन २५ गतेको पत्र तथा संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४ को दफा ६.१ बमोजिम उक्त परीक्षा सञ्चालन गरिएको हो।

नगरपालिकाको निर्देशनपश्चात् विद्यालय छात्रवृत्ति वितरण समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार लम्सालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा शिक्षक–अभिभावक संघ (PTA) का अध्यक्ष राजेन्द्र राना, वडा अध्यक्ष प्रकाश सापकोटा, नगरपालिका प्रतिनिधि खेमप्रसाद आचार्य तथा सदस्य–सचिव एवम् प्राचार्य गोपेन्द्र केशरी न्यौपानेको उपस्थिति रहेको थियो।
बैठकको निर्णयअनुसार साउन २७ गते सूचना प्रकाशित गरी भदौ ६ गते बिहान ११:०० बजे छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
शिक्षा शाखा प्रमुख र पिटिए अध्यक्षद्वारा अनुगमन तथा निरीक्षण
परीक्षालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी एवम् शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्य र शिक्षक–अभिभावक संघ (PTA) का अध्यक्ष राजेन्द्र राना लगायतका प्रतिनिधिहरूले परीक्षा केन्द्रको प्रत्यक्ष अनुगमन तथा निरीक्षण गर्नुभएको थियो।

अनुगमनका क्रममा शिक्षा शाखा प्रमुख आचार्यले परीक्षा शान्त, अनुशासित र व्यवस्थित वातावरणमा सञ्चालन भएकोमा प्रसन्नता व्यक्त गर्नुभएको थियो। साथै, छात्रवृत्ति छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गरी नतिजा प्रकाशनका लागि आवश्यक निर्देशनसमेत दिनुभएको थियो।
छनोट प्रक्रिया र नतिजा प्रकाशन
कुल विद्यार्थी सङ्ख्याका आधारमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रावधानअनुसार १०० पूर्णाङ्कको परीक्षा सञ्चालन गरिएको हो। योग्यताक्रम निर्धारण गर्दा विद्यार्थीले कक्षा १० मा प्राप्त गरेको GPA लाई २० प्रतिशत भार तथा छात्रवृत्ति छनोट परीक्षामा प्राप्त अङ्कलाई मुख्य आधार बनाइने विद्यालयले जनाएको छ। समितिका अनुसार छात्रवृत्ति छनोट परीक्षाको अन्तिम नतिजा तथा सफल विद्यार्थीहरूको नामावली आगामी भदौ ८ गते प्रकाशन गरिनेछ।
नतिजा प्रकाशन गर्नुअघि सफल विद्यार्थीहरूको नामावलीको हार्डकपी तथा सफ्टकपी दुवै गैँडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाइने विद्यालय प्रशासनले जनाएको छ। नगरपालिकामा आवश्यक विवरण बुझाएपछि मात्र छात्रवृत्ति छनोट परीक्षाको नतिजा तथा सफल विद्यार्थीहरूको नामावली सार्वजनिक गरिनेछ। साथै, छनोट भएका विद्यार्थीहरूको विवरण IEMIS प्रणालीमा समेत प्रविष्ट गरिनेछ।

































Discussion about this post