Skip to main content

Nirvik Khabar

गैँडाकोट नमूना माविद्वारा नेपाल प्रथम भएका शीतल गौतम सहित उत्कृष्ट विद्यार्थी सम्मानित

Advertisements
Single Page Long - 2

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ स्थित गैँडाकोट नमूना माध्यमिक विद्यालय तथा कलेजले कक्षा १२ को परीक्षामा नेपाल प्रथमको इतिहास रचेकोे छ । कक्षा १२ को बोर्ड परीक्षामा सहभागी भई नेपाल प्रथम भएका छात्र शीतल गौतम सहित उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई विद्यालयले सम्मान गरेको छ।

विद्यालयले आज बिहान ‘द नेक्स्ट च्याप्टर’ कार्यक्रम आयोजना गरी यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी भई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको हो। यस वर्षको कक्षा १२ को परीक्षामा शीतल गौतमले ३.९६ जीपीए प्राप्त गर्दै नेपाल प्रथम हुनुभएको थियो । विद्यालयले गौतमसहित उत्तीर्ण विद्यार्थीलाई विशेष कार्यक्रमको आयोजना गरी पञ्चेबाजासहित सम्मान गरेको हो।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कक्षा १२ उत्तीर्ण गरेपछि सकेसम्म अध्ययन र अवसरका लागि विदेश नजान तथा जानै परे पनि आवश्यक सीप र दक्षता हासिल गरेर मात्र जान विद्यार्थीलाई आग्रह गर्नुभयो।

विद्यालयका सहायक प्रिन्सिपल चन्द्र केसीका अनुसार यस वर्ष विद्यालयबाट १२७ जना विद्यार्थी कक्षा १२ मा उत्तीर्ण भएको कुरा जानकारी दिंदै तीमध्ये १४ जनाले ३.६० भन्दा माथिको जीपीए प्राप्त गरेको कुरा बताउनुभयो । अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा सहित कक्षा १२ उत्तीर्ण गरेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा गैँडाकोट नमूना मावि र नमुना कलेज तथा जी ग्रुपका प्रबन्ध निर्देशक इन्द्रप्रसाद रेग्मीले नमूना विद्यालय लामो इतिहास बोकेको प्रतिष्ठित शैक्षिक संस्था भएको बताउनुभयो। साथै रेग्मीले विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्नुका पछाडी विद्यार्थी, शिक्षक र अभिभावक सबैको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो साथै उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न देशकै अत्याधुनिक हाइटेक शैक्षिक पूर्वाधार निर्माण भइरहेको जानकारी दिनुभयो।

त्यसैगरी, अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका क्याम्पस प्रमुख प्रा.डा.ई. हरि भण्डारीले विद्यालयलाई उत्कृष्ट नतिजाका लागि बधाई दिँदै नेपाल प्रथम भएका शीतल गौतमलाई आफ्नो कलेजमा स्नातक तहको जुनसुकै विषय अध्ययन गर्न चाहे पनि शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।
साथै कलेज प्रमुख भण्डारीले कक्षा १२ उत्तीर्ण पछि तुरुन्तै वैदेशिक अध्ययनको नाममा विदेश नहिँड्न आग्रह गर्दै नेपालमै स्नातक तहको अध्ययन पूरा गरी सीप हासिल गरेर मात्र विदेश जान सुझाव दिनुभयो। दक्ष र परिपक्व भएर विदेश जाँदा राम्रो आम्दानीसँगै सुरक्षित भविष्य निर्माण गर्न सहज हुने उहाँको भनाइ थियो। साथै, युवाले विदेशभन्दा नेपाल निर्माणमा योगदान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल प्रथम भएका छात्र शीतल गौतमले पनि जीपीए मात्र सफलता होइन भन्दै निरन्तरको मेहनत, अनुशासन र सही कार्यशैलीले नै जीवनमा सफलता दिलाउने धारणा राख्नुभयो। अहिले प्राप्त भएको धेरै जीपीएले मात्र भविष्य निर्माण गर्दैन, आफ्नो काम इमान्दारीपूर्वक र सही ढंगले गर्न सके मात्रै सफल हुन सकिने कुरा नेपाल प्रथम गौतमले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका सञ्चालक नारायण सापकोटा, लुम्बिनी आईसीटी कलेजका प्रतिनिधि श्रीकृष्ण न्यौपाने, शिक्षक–अभिभावक संघका अध्यक्ष राजेन्द्र राना, अभिभावक रुपा काफ्ले लगायतले विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।

गैंडाकोट नमुना माध्यमिक विद्यालय र गैंडाकोट नमुना कलेजले विद्यार्थीहरुको मनोभावना बुझेर अध्यापन कार्य गर्दै आएको हुँदा उत्कृष्ट नतिजा प्राप्त भएको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ । गैंडाकोट नमुना मावि र गैंडाकोट नमुना कलेज विज्ञान, व्यवस्थापन र होटेल म्यानेजमेन्ट संकायमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै गईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस