भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीति भेटघाट गर्दैछन्। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छन्। सोमबार लामिछानेलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले स्वागत गरेका थिए। आज नयाँदिल्लीमा लामिछानेसहितको प्रतिनिधिमण्डलले भारतीय सत्तारूढ पार्टी भाजपाका उच्च नेतत्वसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तालिका रहेको रास्वपाले जनाएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार भाजपाका नेताहरूसँगको भेटवार्तामा दुई दलबिच सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान हुने छ। लामिछाने दिल्ली पुगेपछि भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेद्वारा जारी विज्ञप्तिमा भ्रमणका क्रममा लामिछानेसहितको प्रतिनिधिमण्डलले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता हुने उल्लेख छ।भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने रास्वपाले जनाएको छ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।


































Discussion about this post