Nirvik Khabar

नेपाल र स्कटल्याण्ड भिड्दै, भाग्य नहेरी मेहनत गरेमात्र नेपालको जित सम्भव

काठमाडौँ । स्कटल्याण्डको डुन्डीमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा आज नेपालले घरेलु टिमसँग खेल्दैछ । लगातार दुई जितसहित अंक तालिकामा सुधार गरेको नेपाललाई अझ सुधार गर्न यो श्रृंखला जित्नु जरुरी छ ।

आजको दिउँसो ३ः४५ बजेदेखि हुने खेलमा नेपालले घरेलु स्कटल्याण्डविरुद्ध निकै सजग भएर खेल्नु पर्नेछ । स्कटल्याण्ड नेपाल भन्दा बलियो टिम हो । फेरि घरेलु मैदान । नेपालले यसअघिको पहिलो खेलमा भने स्कटल्याण्डबाट महत्वपूर्ण दुई अङ्क खोसेकाले स्कटल्याण्ड स्तव्ध छ ।नेपालले खुशीलाई अझ फराकिलो पार्न यो खेल जित्नैपर्नेछ । नेपालले नेदरल्याण्ड्सलाई पनि पाँच विकेटले पराजित गरे महत्त्वपूर्ण अङ्क हासिल गरिसकेको छ । यो श्रृंखला जितेर मनोबल उच्च पार्न नेपालले आज जितको विकल्प सोच्नु् हुने छैन ।

पहिलो खेलमा नेपाललाई भाग्यले पनि साथ दिएको थियो । किनकि नेपाल एक विकेटले विजयी भएको थियो । यो असम्भव जस्तै थियो । घरेलु टिमले खुशीको गुञ्जनमात्र निकाल्न बाँकी रहेका बेलामा नेपालले उक्त खुशी छिनेको थियो ।भाग्यले सधै साथ दिन्छ भन्ने छैन । जसले मेहनत गर्छ उसलाई भाग्यले बेवास्ता गर्ने पनि हैन । तसर्थ नेपालले थप मेहनत गरे असम्भव छैन । यस्तो थियो स्कटल्याण्डसँगको पहिलो खेल–

नेपालको कीर्तिमानी जितसँगै बढेको मनोबल
नेपालले सोमबार राति स्कटल्याण्डलाई मात्र एक विकेटले हराएर सनसनी मच्यायो । लगभग हार नजिक पुगेको खेलमा नेपालले सफलता हासिल गरेको थियो ।त्यतिमात्र होइन नेपालले २९७ रनको उच्च योगफलको चुनौती पहिलो पटक पूरा गरेको हो । एक दिवसीयमा नेपालको यो उच्च रन पछ्याएर हासिल गरेको पहिलो सफलता हो ।

घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो हालसम्मकै ठूलो लक्ष्य हो ।

यसअघि नेपालले सन् २०२३ मा नामिबियाविरुद्ध र सन् २०२४ मा क्यानाडाविरुद्ध समान २८६ रनको लक्ष्य पूरा गरेको थियो ।नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए । करणले ४१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै अविजित रहे । उनको एक दिवसीयमा पहिलो अर्धशतकसमेत हो ।

ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकासहित ५३ रन बनाए । गुल्शनकुमार झा ४२, भीम सार्की ४०, कप्तान रोहितकुमार पौडेल ३७ र आसिफ शेख २० रनमा आउट भए ।

स्कटल्याण्डका ब्रान्डन म्याकमुलनले सर्वाधिक तीन विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। चार्लि टियरले सर्वाधिक ८० रन बनाए ।नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिए ।

नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल
पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गर्यो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।नेपालको जितमा आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्कासहित ७८ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ खेले। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ३ चौकाको सहयोगमा नटआउट ३८ रन बनाए। आरिफ र दीपेन्द्रबीच पाँचौँ विकेटका लागि ८९ रनको प्रभावशाली साझेदारी भएको थियो।

अन्य ब्याट्सम्यानतर्फ ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकासहित २५ रन, कप्तान रोहित पौडेलले ३९ बलमा १ चौकासहित २३ रन, र अर्का ओपनर आसिफ शेखले २२ बलमा ३ चौकासहित १९ रन जोडेका थिए। भीम सार्कीले ११ रन बनाए ।नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए भने भिभियन किङ्ग्मा र पल भान मेकरेनले समान १-१ विकेट हात पारे।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भएको थियो। नेदरल्याण्ड्सका लागि नोहा कोर्सले ५५ बलमा ५ चौकासहित सर्वाधिक ४८ रन बनाए। कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकासहित ४६ रन जोडे भने विक्रमजित सिंहले ३८ रन र ज्याक लायनले २७ रन बनाए।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। करण केसी, ललित राजवंशी, र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे।यो जितसँगै नेपाल १४ खेलबाट १० अंकसहित लिगको सातौँ स्थानमा उक्लिएको छ। पराजित नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा यथावत् छ। स्कटल्याण्ड १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस