सुनसरी । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका हुन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाएका छन् ।
राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उनले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहेका छन् । राई शिक्षण पेसामा रहेका बेला उनको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिए । धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिए ।
राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाए । शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन । राईले भने, “परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनैबेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।”


































Discussion about this post