काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा गोली हान्न आदेश दिने जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी सिद्धि विक्रम शाह प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएका छन् ।शाहले कोरियाली भाषा परीक्षाको विवादमा आफूहरुले पनि परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवालाई तितरवितर गर्ने क्रममा गोली चलाउन आदेश दिएका थिए ।
त्यस्तै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ निलम्बनमा परेका छन् ।बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए । घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिनेलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिएका हुन् ।युवाहरुले आन्दोलन गरिरहँदा उक्त क्षेत्रमा मनत्रीको सवारी साधन लैजाने सुरक्षाकर्मी पनि निलम्बित भएका हुन् ।प्रधानमन्त्री प्रचण्डले आजै बिहान गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुसँग गरेको छलफलपछि उनीहरुलाई निलम्बन गरिएको हो । उक्त घटनामा मन्त्री ज्वाला सवार सवारीमा युवाले आगजनी गरेका थिए ।
सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
Discussion about this post