अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा बिहीबार दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलियाले आठौँपटक विश्वकपमा फाइनल स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि आइतबार नरेन्द्र मोदी रंगशालामा आयोजक भारत र अस्ट्रेलियाबीच भिडन्त हुनेछ । चालू प्रतियोगितामा भारतले एक खेल पनि गुमाएको छैन । भारतले सन् २०११ पछि फाइनल स्थान रक्षा गर्ने क्रममा अपराजित यात्रा कायम राखेको छ ।
दक्षिण अफ्रिकाको मध्यम योगफल
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले बलियो अस्ट्रेलियाविरुद्ध चुनौतीपूर्ण योगफल खडा गर्न सकेन । पूरै अफ्रिकन टोली ४९.४ ओभरमा २१२ रनमै समेटियो । अस्ट्रेलियाले सहज रूपमा लक्ष्य पछ्याउन सकेन । अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेटको क्षतिमा २१५ रन जोड्दै भारतसँगको उपाधि भिडन्त पक्का गर्यो । अस्ट्रेलियाका लागि प्याट क्युमिन्स र मिचेल स्टार्कले आठौँ विकेटका लागि ४६ बलमा २२ रनको अविजित साझेदारी गरेका थिए । मार्को जान्सेनको ओभरमा क्युमिन्सले विजयी चौका प्रहार गरेका थिए ।
उनले डरलाग्दा ब्याट्सम्यान ग्लेन म्याक्सवेलको महत्वपूर्ण विकेट लिँदै दक्षिण अफ्रिकालाई जितको आशा दिलाए । बाउन्ड्री प्रहार गर्ने चक्करमा म्याक्सवेल बोल्ड भएका थिए । यसैगरी गेराल्ड कोएट्जेले पूर्वकप्तान स्टिभ स्मिथको विकेट लिए । दक्षिण अफ्रिकी बलरले कसिलो बलिङ प्रदर्शन गर्दा नै अस्ट्रेलियाले अन्तिम दुईको स्थान पक्का गर्न संघर्ष गर्नुपरेको थियो ।
अस्ट्रेलियाको बलियो ओपनिङ
मध्यम योगफल पछ्याएको अस्ट्रेलियाको सुरुवात उत्कृष्ट रह्यो । ट्राभिस हेड र डेभिड वार्नरले पहिलो विकेटका लागि ६.१ ओभरमा ६० रनको साझेदारी गरेका थिए । वार्नरले १८ बलमा चार छक्का र एक चौका प्रहार गरी २९ रन जोडेका थिए । हेडले ४८ बलमा नौ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६२ रनको योगदान दिए । उनी आउट हुँदा अस्ट्रेलिया १४.१ ओभरमा १३३/४ को स्थितिमा थियो । स्मिथले १८ रन र मार्नुसले ३० रन जोडे । अस्ट्रेलियाको ब्याटिङ इनिङ्समा दक्षिण अफ्रिकी स्पिनर हाबी भएका थिए ।
मिलरको संघर्षपूर्ण शतक
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ११.५ ओभरमा चार विकेटको क्षतिमा २४ रन बनाएको थियो । अस्ट्रेलियाले यहीँबाटै खेलमा पकड बनायो । फितलो ब्याटिङ प्रदर्शन गरेको दक्षिण अफ्रिकाका लागि डेभिड मिलर शतकीय इनिङ्स खेल्न सफल भए । उनले ११६ बलमा १०१ रन जोडे । यसक्रममा उनले आठ चौका र पाँच छक्का प्रहार गरेका थिए । मिलर इनिङ्सको ४७.२ ओभरमा क्युमिन्सबाट क्याच आउट भए । दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४७ रन बनाए । उत्कृष्ट फर्ममा रहेका क्विन्टन डी कोक सेमिफाइनलमा चुके । उनले १४ बलमा ३ रन मात्र बनाए । कप्तान बाभुमा शून्यमा आउट भए ।
एकदिवसीयमा कोहलीले बनाए ५० शतकको कीर्तिमान
भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् । भारतमा चलिरहेको विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले न्युजिल्यान्डविरुद्ध शतकीय इनिङ्स खेल्दै सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान भंग गरे ।
तेन्दुलकरले ४५१औँ एकदिवसीय ४९ शतक बनाएका थिए । कोहलीले केवल २७७औँ खेलमा विश्व कीर्तिमान बनाए । उनले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दै सचिनसँगको कीर्तिमान बराबरी गरेका थिए ।
न्युजिल्यान्डविरुद्धको खेलमा कोहलीले ११३ बलमा नौ चौका र दुई छक्काको मद्दतमा ११७ रन बनाए । यसैगरी कोहलीले विश्वकप क्रिकेटमा सात सय रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।
उनले सचिनको नाममै रहेको रेकर्ड तोडेका हुन् । तेन्दुलकरले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । अस्ट्रेलियाका म्याथु हेडनले २००७ को विश्वकपमा ६५९ र रोहित शर्माले २०१९ मा ६४८ रन बनाएका थिए ।
धेरै विकेट लिनेमा सामी
चालू विश्वकपमा भारतका मोहमद सामी सर्वाधिक विकेट लिने बलर बनेका छन् । सामीले ६ इनिङ्समा ९.१३ औसतमा २३ विकेट लिएका छन् । अस्ट्रेलियाका एडम जाम्पा सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध विकेटविहीन भएपछि सामी सर्वाधिक विकेट लिने बलरका रूपमा अगाडि बढेका हुन् । जाम्पालाई सामीको बराबरी वा उछिन्ने मौका थियो । जाम्पाले नौ खेलमा २२ विकेट लिएका छन् ।
सामीले एकदिवसीय खेलमै उत्कृष्ट बलिङ गर्दै न्युजिल्यान्डविरुद्ध सात विकेट लिएका थिए । उनले ५७ रन खर्चेर न्युजिल्यान्डका सात ब्याट्सम्यानलाई पेभेलियन पठाए । यसअघि उनले इंग्ल्यान्डविरुद्ध चार, श्रीलंकाविरुद्ध पाँच र दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिए । विश्वकपबाट बाहिरिसकेको श्रीलंकाका दिल्सान मदुसंकाले नौ खेलमा २१ विकेट लिएका छन् ।
Discussion about this post