गौशाला : आस्थाको महापर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ। छठपर्व गर्ने व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन्।उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ। जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा-अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ। प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ।
छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधी गर्छन्। तेश्रो दिन शनिबार खरना मनाइन्छ। यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ।यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ। यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ।पर्वको अन्तिम अर्थात पाँचौ दिन सोमबार बिहान उँदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत रुपमा समापन गरिन्छ।
पूजा सामग्री किनमेलमा व्यस्त, स्थानीय बजारमा ग्राहकको घुइँचो
छठपर्व नजिक आएसँगै स्थानीय बजारहरुमा पूजा सामग्री खरिद बिक्री गर्नेहरुको घुइँचो लागेको छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन्।
छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले मिथिलान्चलका हरेक हाटबजारमा चहलपहल बढेको छ। छठ पूजामा अनिवार्य रहेको हरियो सागसव्जी (तरकारी), फलफूल किन्नेहरुको भिडभाड देखिन्छ।
घाट सजाउँदै युवा
पूजा गर्नका लागि अहिले घाट बनाउन यहाँका युवाहरु व्यस्त देखिन्छन्। पायक पर्ने पोखरीका डिल, नदीका तट, तालतलैया लगायतका घाट सरसफाई गरी सामुहिक रुपमा घाट बनाउन लागिपर्छन्। चन्दा उठाएर भए पनि घाट सजाउन लाखौँ रकम खर्चिएको हुन्छ। घाट सरसफाइ, सजावट र व्यवस्थापनका लागि अहिले धमाधम काम भइरहेको छ।
Discussion about this post