वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्। बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका तीन खण्ड यतिबेला पहिरोले पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले सास्ती पाएका छन्। काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो।
त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। त्यहाँ पनि सवारी आवागमन पूर्णरूपमा रोकिँदा यात्रुले दुःख पाएका छन्। उता लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ।
त्यसैगरि ललितपुरको बागमती गाउँपालिका ३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका ८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी अवरुद्ध बनेको छ। त्यहाँ मुस्किलले सवारी साधन वारपार भइरहेका छन्। त्यसैगरि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पनि पहिरो खस्दा बेनी जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ। पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।

































Discussion about this post