गैँडाकोट,-परम्परागत शिक्षण शैलीलाई तोड्दै आधुनिक प्रविधि र वैज्ञानिक सिकाइ पद्धतिलाई प्राथमिकता दिएको गैँडाकोट नमुना मा.वि. ले नगर स्तरीय परीक्षा २०८२ मा ऐतिहासिक नतिजा हासिल गरेको छ। नतिजासँगै विद्यालयले प्राविधिक शिक्षा र विद्यार्थी-अभिभावक सहकार्यको नयाँ नमुना प्रस्तुत गरेको छ।
४ GPA को कीर्तिमान
यस वर्षको नतिजामा कक्षा ५ का विद्यार्थीहरूको प्रदर्शन विशेष उत्साहजनक रह्यो। कक्षा ५ का ६ जना विद्यार्थीहरू— आराध्या लम्साल, अश्मी सुवेदी, सृष्टि पोखरेल, स्मृति पौडेल, प्राञ्जल घिमिरे र रोनक थापा क्षेत्रीले ४.० को ‘परफेक्ट’ GPA प्राप्त गर्दै विद्यालयलाई गर्वको शिखरमा पुर्याएका छन्। कक्षा ५ मा सहभागी ९० जनामध्ये ५० जनाले ३.६ देखि ४.० सम्मको उच्च ग्रेड प्राप्त गर्नु विद्यालयको ‘७ए’ (7A) एकेडेमिक फ्रेमवर्कको सफलता मानिएको छ।
त्यसैगरी, कक्षा ८ तर्फ आषिका खड्का, जेनिशा श्रेष्ठ र सिवानी खड्काले ३.९७ GPA ल्याई कक्षा टप गर्न सफल भएका छन्।
नयाँ शैक्षिक सत्र: प्रविधि र सहकार्यको महायात्रा
सफलताको यो लहरसँगै गैँडाकोट नमुना मा.वि. ले शैक्षिक सत्र २०८३ का लागि महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। विद्यालयका प्रधानाध्यापकका अनुसार, यही वैशाख २ गतेबाट शिक्षक र अभिभावकका लागि ‘एकेडेमिक फ्रेमवर्क’, ‘ह्यान्ड-राइटिङ ट्रेनिङ’ र ‘डिजिटल तालिम’ जस्ता विशेष कार्यक्रमहरू सुरु हुनेछन्।
उनले भने, “हामीले शिक्षालाई कक्षाकोठामा मात्र सीमित नराखी अभिभावकको घरदैलोसम्म जोड्ने प्रयास गरेका छौँ। अब अभिभावकले वैशाख २ गतेबाट डिजिटल माध्यममार्फत नै आफ्ना बालबालिकाको सिकाइ प्रक्रियालाई प्रत्यक्ष अनुगमन गर्न सक्नुहुनेछ।”
भविष्यको तयारी: कोडिङ, रोबोटिक्स र ए.आई.
नमुना मा.वि. ले आगामी शैक्षिक सत्रदेखि आफ्ना विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन कक्षा ३ देखि १२ सम्म अनिवार्य रूपमा कोडिङ, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को कक्षा सुरु गर्दैछ। स्मार्ट क्लासरूम र अनुसन्धानमा आधारित शिक्षणले विद्यार्थीको सिर्जनशीलतामा निखार ल्याउने विद्यालयको विश्वास छ।
नगर स्तरीय परीक्षाको यस नतिजाले गैँडाकोट नमुना मा.वि. लाई स्थानीय स्तरमा मात्र नभई जिल्लाकै एक ‘अनुसन्धानमुलक शैक्षिक केन्द्र’ का रूपमा स्थापित गरेको छ।


































Discussion about this post