Skip to main content

Nirvik Khabar

ट्रम्पको दाबी इरानले अस्वीकार गर्नासाथ फेरि बढ्यो कच्चा तेलको मूल्य

Advertisements
Single Page Long - 2

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग सकारात्मक वार्ता भएको दाबी गर्नासाथ सोमबार ह्वात्तै घटेको ब्रेन्ट कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि ब्रेन्ट कच्चा तेलको मूल्य मंगलबार बिहान फेरि प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि उक्लिएको हो। मंगलबार बिहान एसियामा ब्रेन्ट कच्चा तेलको मूल्य ३.७५ प्रतिशत बढेर १०३.६९ अमेरिकी डलर पुगेको छ।यसअघि सोमबार ट्रम्पले इरानमा ५ दिन आक्रमण स्थगन गर्ने घोषणा गरेपछि ब्रेन्टको मूल्य १० प्रतिशतभन्दा बढी घटेको थियो।ट्रम्पले इरानसँग चाँडै शान्ति सम्झौता हुन सक्ने दाबी पनि गरेका थिए।तर इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढेको हो।

ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, ‘मलाई यो कुरा सुनाउन पाउँदा खुसी लागेको छ- अमेरिका र इरानबिच विगत दुई दिनमा मध्यपूर्वमा जारी द्वन्द्व पूर्ण रूपमा समाधान गर्ने विषयमा धेरै राम्रो र सकारात्मक छलफल भएको छ।’उनले अगाडि लेखेका थिए, ‘यो हप्ताभरि जारी रहने रचनात्मक वार्तालाई ध्यान दिँदै मैले युद्ध विभागलाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगन गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।’तर लगत्तै इरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी अमेरिका र इरानबिच वार्ता भइरहेको भन्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति अस्वीकार गर्छौँ।’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी (इरान) ले कुनै पनि किसिमको वार्ता तब मात्र गर्छौँ जब युद्धसँग सम्बन्धित हाम्रो लक्ष्य प्राप्त हुन्छ भन्ने कुरामा अडिग छौँ।’

बीबीसी फारसीका वरिष्ठ संवाददाता घोन्चेह हबिबिजादेहका अनुसार इरानको समाचार एजेन्सी फार्सले पनि नाम नखुलाइएको इरानी स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क छैन।’हबिबिजादेहका अनुसार स्रोतले भनेको छ, ‘जब ट्रम्पले पश्चिम एसियाका सबै पावर स्टेसनलाई निसाना बनाइने कुरा सुने तब उनी पछि हटे।’यसपछि पनि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले युद्ध नरोकिने बताएका छन्। उनले भनेका छन्, ‘इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको छ र नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको नेतृत्वले परिस्थितिलाई दृढतापूर्वक सम्हालिरहेको छ।’यस्तै इजरायका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानविरुद्ध आक्रमण जारी रहेको बताएका छन्। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस