काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि संसदीय छानबिन समितिमा उपस्थित भएका छन् ।सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लामिछानेसँग शुक्रबार दिउँसो बयान लिएको हो ।
यसअघि लामिछानेका साझेदार एवम् नेपाल प्रहरीका पूर्वडीआईजी छविराज जोशीसँग समितिले शुक्रबार नै बयान लिएको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन थालिएको हो ।
दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा लामिछानेका साझेदार रहेका जोशी र लामिछानेसँग लिएको बयानबारे समितिले केही खुलाएको छैन , छविले बयान दिएर बाहिरिएपछि पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका बोलाइएको हो ।
गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।तर छवि जोशीले आमाको काज किरिया भदौ ६ गते सकेकाले त्यसको भोलिपल्ट बयानमा आएका हुन् । जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो ।
समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ । राजनीतिमा लाग्नुअघि लामिछानेले जीबी राईसँग मिलेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ ।
पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाखसहित ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा सारेको आरोप उनीहरूमाथि छ ।गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक थिए । रास्वपा सभापति लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।

































Discussion about this post