काठमाडौँ । स्थानीय तह भ्रष्टाचारको अखडा भएको पटक पटक पुष्टि हुँदै आएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो वर्षमा सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा भएको जनाएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी झन् भ्रष्ट बनेका छन् । उनीहरूले राजनीतिज्ञहरूलाई पनि फसाउने गरी कार्यसञ्चालन गर्दा विभिन्न राजनीतिक दलका नेताहरू पनि भ्रष्ट भएका छन् ।यस वर्ष मात्रै ४५ सय २४ ओटा उजुरी परेका छन् भने अघिल्लो आर्थिक वर्षबाट सरी आएका आठ हजार २०० ले १२ हजार ७२४ उजुरीहरू परेको देखाएको छ । जसअनुसार सबैभन्दा बढी ४३ सय बढी उजुरी स्थानीय तहका छन् ।
स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएपछि आयोगले गत वर्ष नै स्थानीय तहलाई ६१ बुँदे सुझावसमेत दिएको थियो । तर पनि उजुरीको संख्या नघटेपछि आयोगले उजुरीउपर छानबिन, अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दर्ता गर्दै आएको छ ।ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित कर्मचारीलाई भ्रष्टाचारमा मुद्धा दायर भएपछि थप पुष्टि भएको छ । नगरपालिकामा संचालित ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मेयरसहित भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना अधिकृतहरू निलम्बनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै साता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित विगत ५ वर्षमा नगरको प्रशासन हाँकेका अधिकृतहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । मुद्दा दायर भएलगत्तै मेयर, उपमेयर र घोटालामा मुछिएका सबै प्रशासकीय अधिकृत निलम्बनमा परिसकेका छन् ।उनीहरूविरुद्ध क्रसर खानी तथा नदीजन्य पदार्थमा सरकारी दररेट भन्दा कम कर जम्मा गरेर राजश्व हिनामिना गरेको अभियोग छ । आर्थिक वर्ष २०७५–०७६ देखि २०७९–८० सम्मको अवधिमा भएका विभिन्न ठेक्कामा मिलेमतोमा राजश्व हिनामिना गरेको अख्तियारको दाबी छ ।
अख्तियारले ५ आर्थिक वर्षको बेग्लाबेग्लै अभियोग पत्र दायर गर्दै हरेक वर्षको बेग्लाबेग्लै बिगो कायम गरेको छ भने बिगोको दोब्बर जरिबाना असुल गरी कैद सजाय गर्नसमेत माग गरेको छ ।खानीजन्य पदार्थको बोलपत्र आह्वान र ठेक्का सम्झौता गर्दा गोदावरी नगरपालिकाका मेयर उपमेयर प्रमुख प्रशासकीय अधिकृतले संविधान संघीय कानून, बागमती प्रदेश ऐन, स्थानीय सरकार संचालन ऐनको बेवास्ता गरेको र बागमती प्रदेश आर्थिक ऐनले निर्धारण गरेको राजश्व दर प्रति घनफिट ९ रुपैयाँ लिनुपर्नेमा २ रुपैयाँ ७५ पैसा घनफिटमात्र असुल गरेर प्रति घनफिट ६ रुपैयाँ २५ पैसाको प्रत्यक्ष लाभ खानी उद्योग र क्रसर व्यवसायीलाई पुर्याएको अख्तियारको दाबी छ ।
अख्तियारले ढुंगाखानीमा राजश्व घोटाला गरेको अभियोगमा मुद्दा चलाएका प्रमुख प्रशासकीय अधिकृतहरूमा प्रबिन कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासिनी छन् ।उनीहरूको विगत पनि सुखद छैन । आर्थिक वर्ष २०७८–७९ मा भएको २० करोड बढीको हिनामिनामा वीरेन्द्रदेव भारतीको संलग्नता रहेको अख्तियारको दाबी छ । उनी त्यसबेला गोदावरीमा थिए भने हाल भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन् ।
मुद्दा लागेलगत्तै उनी स्वतः निलम्बनमा छन् । आर्थिक वर्ष २०७५–०७६ मा भएको १७ करोड ७९ लाख राजश्व हिनामिनाका बेला विश्वराज मरासिनी प्रमुख प्रशासकीय अधिकृत थिए ।उनी यसअघिनै भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । उनले सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा ३ वटा भ्रष्टाचारको मुद्दा खेपे । बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा माछापोखरी निर्माणको ठेक्का भ्रष्टाचारी ठहर भइसकेका व्यक्ति हुन् ।
मरासिनीलाई ६ महिना कैद र ४ लाख ६१ हजार २ सय ५० रुपैयाँ जरिमाना हुने फैसला भइसकेको छ । मरासिनी भ्रष्टाचारी ठहर भएको ६ महिना नपुग्दै अर्को भ्रष्टाचारको मुद्दा दायर भएको हो ।सिम्रौनगढमा २ लाख रुपैयाँको सफ्टवेयर खरिद प्रकरणमा भने उनले सफाइ दिइएको छ । सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माण बापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनीविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
ललितपुरको गोदावरीमा हुँदा मरासिनीविरुद्ध हालेको यो चौथो मुद्दा हो । पछि उनी प्रमुख जिल्ला अधिकारीसम्म भए । धादिङको बुढानीलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको थिमी नगरपालिका, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र बाराको सिम्रौनगढ नगरपालिकासम्म चलाएर उनी अछामको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए ।
२०७७–०७८ मा भएको १८ करोड ६३ लाख रुपैयाँ राजश्व हिनामिनाका बेला कृष्णप्रसाद जैशी प्रमुख प्रशासकीय अधिकृत थिए । अख्तियारले उनीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।उनी २०७७ साउन ५ गते गोदावरीकै प्रशासकीय अधिकृत हुँदा उपभोक्तासँग ५० हजार घुस लिएको अभियोगमा पक्राउ परेका थिए । प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइरालाले आर्थिक वर्ष २०७९–८० मा २६ करोड ६३ लाख राजश्व हिनामिना गरेको अख्तियारको दाबी छ । उनी पनि मुद्दा परेसँगै निलम्बनमा छन् ।


































Discussion about this post