काठमाडौँ । पाँच जिल्लाका सिडिओसहित १० सहसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिवसहित दाङ, भक्तपुर, महोत्तरी,बागलुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।
प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभाग कालीकास्थान काठमाडौँको महानिर्देशक बनाई पठाइएको छ भने तामाङको ठाउँमा सहसचिव जय नारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्य गृह मन्त्रालयमा कार्यरत थिए । अनुभव र कार्यक्षमताका हिसाबले विभागमा आचार्यको चर्चा चले पनि अन्तिममा तामाङले बाजि मारेका छन् ।
प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीलाई दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाइ पठाइएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रजिअ भरतमणि पाण्डेलाई गृह मन्त्रालय ल्याइएको छ भने मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडिओ बनाइएको छ । ललितपुर महानगरबाट गृह प्रवेश गरेका अर्याल निर्णय क्षमतामा अब्बल प्रशासकका रूपमा लिइन्छन् । ललितपुर महानगरमा लामो समय बसेका अर्यालले विवादरहित तवरले काम गरेका थिए ।
मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअ र बागलुङकी प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअमा खटाइएको छ। यससँगै महोत्तरीका प्रजिअ दीपक कुमार पहाडी र भक्तपुरका प्रजिअ खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
Discussion about this post