Nirvik Khabar

राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले नै बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।१२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पाैडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

राष्ट्रपति कार्यालयले वैशाख १९ गते उपचार खर्च स्वयमले बेहोर्न चाहेको जानकारी दिँदै लेखेको पत्र।
राष्ट्रपति कार्यालयले वैशाख १९ गते उपचार खर्च स्वयमले बेहोर्न चाहेको जानकारी दिँदै लेखेको पत्र।

‘राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको समेत दैनिक भ्रमण भत्ता कटाएर हवाइ भाडा र उपचार खर्चको मात्रै बिल स्वीकृत भएको छ, त्यहीअनुसार १८ असारको साँझ सचिवस्तरबाट निर्णय गरेर निकासा मागिएको हो,’ परराष्ट्र स्रोतले भन्यो ।

काठमाडौंबाट दिल्लीमा एयर एम्बुलेन्समा राष्ट्रपतिलाई लैजाँदा सबैभन्दा धेरै ३३ लाख रुपैयाँ खर्च भएको स्रोतले बताएको छ । स्रोतका अनुसार दिल्लीको उपचारमा करिब ७ लाख रुपैयाँ र फर्कंदाको करिब ६ लाख खर्च भएको देखिएको छ । ती सबै रकमको बिलसहित रकम निकासाका लागि अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस