चितवन, असार ७-
चितवन राष्ट्रिय निकुञ्जमा जेठ महिना सम्म झण्डै तीन लाख पर्यटकले भ्रमण गरेका छन् ।राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्षको सुरुवातको महिना साउनदेखि जेठसम्म दुई लाख ८८ हजार ३५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।
तथ्यांकका अनुसार निकुञ्जमा नेपाली एक लाख ९८ हजार ८२६ जना, सार्क देशका ३५ हजार ८८६ र विदेशी २९ हजार ५७६ जना पर्यटक पुगेका छन् । सबैभन्दा धेरै पर्यटकले कात्तिक महिनामा भ्रमण गरेका छन् भने सबै भन्दा कमले भदौं महिनामा भ्रमण गरेका छन् । कात्तिक महिनामा ४२ हजार ६४१ पर्यटकले भ्रमण गरेका छन् भने भदौं महिनामा आठ हजार ८८० जनाले भ्रमण गरेका छन् ।
निकुञ्जका अनुसार यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले १७ करोड ३० लाख तीन हजार ९०० रुपैयाँ राजश्व आम्दानी गरेको छ । सबैभन्दा धेरै पर्यटक आएको कात्तिक महिनामा दुई करोड ६३ लाख ५० हजार २५० आम्दानी भएको छ भने सबै भन्दा कम पर्यटक आएको भदौं महिनामा ५१ लाख तीन हजार ३०० रुपैयाँ आम्दानी भएको छ ।
Discussion about this post