काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको इलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टस खेल्दैछन् ।
चेन्नईको मैदानमा बेलुकी ७ः४५ बजेदेखि खेल शुरु हुँदैछ । यो खेलमा जित हासिल गर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टिम बाहिरिने छ ।
अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा पुगेका टिमले इलिमिनेटर खेल्न लागेका हुन् । लखनउ १७ अंकसहित तेस्रो तथा मुम्बई १६ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो ।
दोस्रो क्वालिफायर आगामी शुक्रबार खेलिने छ । यो खेल बेलुकी ७ः४५ बजे अहमदाबादमा हुनेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता तथा पहिलो क्वालिफायरबाट पराजित भएको गुजरात टाइटान्सले खेल्नेछन् । यो खेलको विजेता फाइनलमा पुग्नेछ ।
दुवै टिमले पछिल्ला पाँच खेलमा तीनमा जित र दुईमा हार बेहोरेका छन् । लगातार दोस्रो पटक लखनउ प्लेअफमा पुगेको हो ।नखनउमा यसपालि मार्कस स्टोइनिसले ३६८ रन बनाएका छन् । काइल मेयर्सले ३६१ रन बनाउँदा रवि बिस्नोईले १६ विकेट लिएका छन् ।
मुम्बईबाट सूर्यकुमार यादवले ५११ रन बनाएका छन् । इशान किशनले ४३९ रन बनाए । पियुष चावलाले २० विकेट लिएका छन् ।हेड टु हेडमा दुवैले आपसमा ३ खेल खेलेका छन् । तीन वटै खेल लखनउले जितेको छ ।
स्पिनरलाई मद्धत मिल्ने यो पिचको औसत स्कोर १६० देखि १७० रन हो । मंगलबार राति चेन्नई सुपर किंग्सले १७२ रन बनाएको थियो । गुजरात टाइटान्स १५ रनले पराजित भएको थियो ।फास्ट बलर र स्पिनर दुवैलाई मद्धत मिल्नेछ ।
फाइनल आइतबार
फाइनलमा चेन्नई सुपर किंग्स पुगिसकेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा जित हासिल गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नईले साविक विजेता गुजरात टाइटान्सलाई पराजित गर्यो ।
चेन्नईको मैदानमा भएको खेलमा गुजरात १५ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेटको क्षतिमा १७२ रन बनायो ।८७ रनको ओपनिङ साझेदारी भएको खेलमा ऋतुराज गायकवाडले ४४ बलमा ६० तथा डेवोन कन्वेले ३४ बलमा ४० रन बनाए ।
रविन्द्र जडेजाले १६ बलमा २२ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी भने २ बलमा १ रन बनाएर आउट भए ।मोहम्मद शमी र मोहित शर्माले २–२ विकेट लिए । जवाफमा गुजरातले सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।
शुबमन गिलले ३८ बलमा ४२ तथा राशिद खानले १६ बलमा ३० रन बनाए । दीपक चहर, महीश थिक्शाना, रविन्द्र जडेजा र मथिशा पथिरानाले २–२ विकेट लिए । ऋतुराज प्लेयर अफ द म्याच भए ।
गुजरात २० अंकसहित शीर्ष स्थानमा रहेर र चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेका हुन् । चेन्नई १० पटक फाइनलमा पुगिसकेको छ । चेन्नईले आइतबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।
लिग चरणको अंक तालिका
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो ।
राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।
दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो । १६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।
Discussion about this post