Nirvik Khabar

ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, सर्वसम्मत हुने इच्छा छ – रामचन्द्र

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं । भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सर्वसम्मत चयन हुनेमा विश्वास ब्यक्त गरेका छन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराएपछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास ब्यक्त गरेका हुन् । ‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु।’ पौडेलले सञ्चारकर्मीसँग भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने उनको भनाइ छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट पौडेलले उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए ।

उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान रहेका छन् ।

यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।वरिष्ठ नेता पौडेल गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गरेका थिए ।

उनी यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसबीचमा उनीउपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् । उनले सभामुखको जिम्मेवारी निभाएका थिए ।

विसं २००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । कांग्रेसद्वारा सञ्चालित २०१८ को क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए ।

विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेका पौडेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति भएका थिए ।उनी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ (सन् २०२०) बाट सम्मानित भएका थिए ।उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांगे्रस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा समसामयिक लेख प्रकाशित छन् ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available