काठमाडौं । सरकारले फागुन १ गते माओवादीले मनाउँदै अाएकाे ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माओवादीले तेस्रो पटक सरकारको नेतृत्व गर्दा पहिलो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि २०६५ सालमा र २०७३ सालमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । त्यतिबेला बिदा दिन नसकेका प्रचण्डले यसपालि भने बिदा धेरै भएकाले घटाउने बारेमा सोच्नुपर्छ भनेकै केही दिनपछि पहिलो पटक जनयुद्ध दिवसमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
यसअघि कर्णाली प्रदेश, बागमती प्रदेश र विभिन्न स्थानीय तहले पनि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने गरी बिदा दिने निर्णय गरेका थिए ।
माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्धन्द्ध शुरु गरेको थियो । २०६३ साल मंसिर ५ गते सरकारसँग विस्तृत शान्ति सम्झौता गरेपछि माओवादी द्धन्द्ध छाडेर राजनीतिमा होमिएको थियो ।
Discussion about this post