काठमाडौँ – १० दिनपछि उद्घाटन हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध र यति एयरलायन्सका दुइटा एटीआर–७२ विमानले उडान गर्ने भएका छन् । बुद्धले ‘डेमोन्सट्रेसन’ उडान र यतिले ‘डेमोन्सट्रेसन’ तथा ‘एयरपोर्ट फेमिलिअराइजेसन’ उडानको अनुमति पाएको छ ।
यी दुवै उडानको सफलतापछि ६५ वर्ष लेकसाइडनजिकै रहेको पुरानो पोखरा विमानस्थललाई तीन किलोमिटर पूर्वमा ३७ सय रोपनीमा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिस्थापन गर्ने छ ।
नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, काठमाडौंबाट नियमित उडानमा जाने बुद्ध र यतिका दुइटा एटीआर–७२ विमानले पोखराको पुरानो विमानस्थलमा यात्रु ओरालिसकेपछि त्यहाँबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् । उनका अनुसार, ती दुवै जहाजलाई अवतरण गराउनुअघि चालकदलले नयाँ विमानस्थल र धावनमार्गमाथि ‘होभर’ (फेरो लगाउने) गर्ने छन् । दुवै वायुसेवा कम्पनीले उडान सकिएपछि प्राधिकरणमा ‘डेमोन्सट्रेसन’ तथा ‘फेमिलिअराइजेसन’ उडानको प्रतिवेदन अनिवार्य बुझाउनुपर्ने हुन्छ ।
प्राधिकरणले नयाँ विमानस्थलबाट एयर ट्राफिक सेवा पनि सञ्चालन गरिसकेको छ । ‘आजका उडानमा दुवै टावरबाट एयर ट्राफिक कन्ट्रोलरले जहाजलाई दिशानिर्देश गर्नेछन्,’ सहायक प्रवक्ता भुलले भने,‘पाइलटहरुले नयाँ धावनमार्गमाथि भएर जहाज उडाउने, टचडाउन गर्ने छन् । त्यसपछि ती जहाज नियमित उडानमा फर्किन पुरानो विमानस्थलबाटै काठमाडौं आउने छन् ।’
यसैबीच बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई काठमाडौं जस्तै व्यस्त हब बनाउने भनेको छ । बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आफ्नो कम्पनी पोखराबाट भारतको बनारास उडानको तयारीमा रहेको बताए । ‘आजको डेमो उडानमा पाइलटहरूले नयाँ विमानस्थलको धावनमार्गका दुवै विन्दुबाट उडान तथा अवतरण गर्नेछन् । अग्रणी वायुसेवा भएको नाताले त्यो विमानस्थलमा हामी सुरुदेखि नै संलग्न हुन्छौं,’ आन्तरिक उडानमा १६ वटा विमान भएको बुद्धका सञ्चालक बस्नेतले भने, ‘काठमाडौं जतिकै महत्त्वका साथ भारतको अनुमति आएलगत्तै पोखराबाट बनारस उडान थालिहाल्ने छौं ।’
सरकारले अंग्रेजी नयाँ वर्ष २०२३ का दिन चिनियाँ कम्पनीले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्घाटनको तयारी गरेको छ । तर, हालसम्म त्यहाँ अन्तर्राष्ट्रिय उडान गर्न कुनै पनि विदेशीले इच्छा प्रकट गरिसकेका छैनन् । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल करिब २० अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो ।
https://www.youtube.com/watch?v=QWKGXdZEQGw
Discussion about this post