काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर रहेको उक्त सार्वजनिक सिफारिसबाटै स्पष्ट हुन्छ कि नामावाली पेश गर्ने बेलामा कसले कसरी खेल्यो भन्ने विषयमा ।
विशेष गरी कांग्रेसको सिफारिसमा विधानविपरीत नेता र नेतापत्नीको घुँइचो देखिएको छ । स्वभावतः प्रधानमन्त्री निवास बालुवाटारले धेरै नै समानुपातिकको सिफारिसमा खेलेको पाइएको छ । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँडलेसमेत खेलेका छन् । प्रदेशगत तहमा समेत प्रधानमन्त्री कार्यालय र गृहमन्त्रीको भूमिका अहम् देखिएको छ । प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्री खाँडको सचिवालयसमेत हावी देखिएको छ ।
हुनत सभापति भएको नाताले सबै क्षेत्रमा देउवा हावी भएका छन् । तर बालुवाटारबाटै लिष्ट जाँदा भने त्यो पार्टीगत नभइ गुटगत हावी भएको देखिएको हो । प्रदेश १ बाट संचारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीमार्फत देउवा हावी भएका छन् ।
मधेसमा सहमहामन्त्री महेन्द्र यादव हावी भएका छन् । बागमती प्रदेशबाट डिना उपाध्याय र डा. प्रकाशशरण महतमार्फत देउवा हावी भएका छन् ।
गण्डकी प्रदेशमा सहमहामन्त्री जीवन परियारसहितकाले मिलाएर लिष्ट बुझाएका थिए । लुम्बिनीमा बालकृष्ण खाँड स्वयं हावी भएका थिए । उनले समानुपातिकको लिष्ट पीए नरेन्द्र केसीलाई बुझाएर पठाएका थिए ।
कर्णालीमा देउवासँगै उपसभापति पूर्णबहादृर खड्का एकलौटी हावी देखिएका छन् । सुदूरपश्चिममा देउवाको बलमा आरजू राणा देउवा, एनपी साउद लगायतको बालुवाटारको टिम हावी भएको छ ।बालुवाटारकै टिम हावी भएसँगै घुुसाइएको लिष्टमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारकोसमेत नाम अटाइएको छ ।
यसरी बनेको समानुपातिकको लिष्टलाई लिएर देउवा समूहभित्र पनि फरक फरक धारणा देखिएका छन् । पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की को कसरी हावी हुने भन्ने जोड चलिरहँदा आफ्नो प्रदेशको लिष्टमा आफ्नो स्वार्थ घुसाएको पाइएको छ ।
त्यसैले कतिपय नामहरु एउटाले प्रस्ताव गरेको नाम देउवा टिमकै अर्को पक्षले काटेकोसमेत पाइएको छ ।
१५ नम्बरमा रहेको ईश्वरी न्यौपानेको नाम खाँडले हटाएकोसमेत पाइएको छ । अरु लिष्टमा पनि त्यसरी नै उतारचढाव गरिएको छ । सरिता प्रसाईको नामसमेत सरिता सिटौला भएर आएर प्रदेश १ बाट हटाइएको छ ।
एकातिर शेखरको विद्रोह, अर्कातिर देउवाको ज्यादती
देउवा पक्ष एकलौटी रुपमा हावी भएसँगै पार्टीको ४० प्रतिशत भाग ओगटेको शेखर कोइराला पक्ष भने आक्रोशित देखिएको छ । मनपरी ढंगले समानुपातिकको बन्द सूची पठाएपछि उनीहरु आक्रोशित भएका हुन् । ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइसकेको शेखर समूहले बन्दसूची बाहिरएसँगै थप असन्तुष्टि देखाएको छ ।
देउवाले आफू निकटका नेताहरुलाईमात्र बन्दसूचीमा राखेका छन् । यसै त अहिलेको गठबन्धनप्रति चरम असन्तुष्ट भएका बेलामा कांग्रेसको समानुपातिक मत नै घट्ने अनुमान भइरहेको छ । त्यसमा पनि आफू र आफ्नालाईमात्र समेटेर बनाइएको बन्दसूचीले पार्टीलाई नाफा भन्दा घाटा नै हुने देखिएको छ ।
फेरि समानुपातिक भनेको पार्टीको सबैभन्दा पक्का मत हो । आफ्नै पार्टीका बाहेक अरु त्यसैले पनि यसमा मत दिँदैनन् । तर त्यही भोटलाई आफू, आफ्ना र मात्र आफ्नालाई राख्दा चर्चित र भोट तान्ने अनुहार नहुँदा थप घाटा हुने निश्चित छ ।
किनकि कसैले नचिन्ने अनुसार र आफ्नै श्रीमती बोकेर प्रचारप्रसारमा जाँदा गलत सन्देश जान्छ । जसले गर्दा मतदाताको मन भड्किन सक्छ । तसर्थ कांग्रेसको समानुपातिकमा मत घट्ने अनुमान भइरहँदा सहमति बिना ल्याइएको बन्द सूचीले थप क्षति पुग्ने देखिएको छ ।
यसलाई तत्काल नसच्याउने हो भने त्यसको नकारात्मक असर प्रत्यक्ष निर्वाचनमा देखिने निश्चित जस्तै भएको छ ।यही असन्तुष्टिबीच केही दिनदेखि महामन्त्री गगनकुमार थापासमेत पार्टीका बैठकमा सहभागी भइरहेका छैनन् । शेखर कोइराला समूहले विद्रोह गर्ने चेतावनी नै दिएको छ ।यो चेतावनीले कांग्रेसलाई त असर पर्छ नै गठबन्धनसमेत अप्ठेरोमा पर्ने निश्चित छ ।
प्रचण्ड तनावमा
कांग्रेसको बन्दसूची र त्यसपछिको प्रतिक्रियाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत तनाव भएको छ । कांग्रेसभित्र विद्रोह भयो भने माओवादीले पनि गठबन्धनबाट धोका पाउने निश्चित छ ।विद्रोह गरेर जब कांग्रेसले कांग्रेसलाई भोट हाल्दैन भने माओवादी वा गठबन्धनका अन्य दललाई पनि मत नहाल्ने निश्चित छ ।
यो परिस्थितिलाई हेरेर प्रचण्ड तनावमा छन् । त्यसैले प्रचण्डले देउवालाई भेटेर पार्टीभित्रको समस्या सुझाउन सुझाव दिएका छन् ।जब आफ्नै पार्टीबाट विद्रोह भयो भने यो निर्वाचनपछिको अवस्था के हुने भन्ने मूल्याङ्कन गर्न पटक पटक देउवालाई शेखर पक्षले सुझाव दिँदै समान न्यायका लागि खवरदारी सभासमेत गरिसकेको छ ।
तर देउवाको कानमा बतास लागेको छैन । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्षले नै भनेपछि देउवाले पुनर्विचार गरे पनि त्यसले केही न केही समस्याको समाधान निस्कने देखिन्छ । तर १६ गतेभित्र अहिलेको समानुपातिकको बन्दसूचीलाई संशोधन नगरेमा कांग्रेसको क्षति हुने निश्चित छ ।
https://drive.google.com/file/d/1ZlrQkWVo6nYnmg7pN806ZoofKVJKmyj3/view
Discussion about this post