चितवन – चितवनमा आज भोलि झ्याप्प झ्याप्प लाइन जान्छ । कहिले के त कहिले के बहानामा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । यसरी झ्याप्प झ्याप्प लाइन जाँदा चितवनबासीले सास्ती भोगिरहनु परेको छ ।
शुक्रबार पनि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले मर्मतका लागि भन्दै नारायण क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध गरायो । शुक्रबार ३७ डिग्री सेल्सियसकाबीच लाइन नहुँदा स्थानीयले दिनभर सास्ती भोग्नु पर्यो । तर जनतालाई सास्ती दिएर विद्युत कार्यालयका कर्मचारी पनि जाँड रक्सीमा मस्ती गरेर बसेको पाईएको छ ।
शुक्रबार कार्यालय परिसर भित्रै खसी काटेर जाँडपाटी गरिएको पाईएको हो । कार्यालय समयमा कार्यालय भित्रै कार्यालय प्रमुख राजिव कुमार सिंहसहित अन्य कर्मचारीहरु जाँडपाटी गरेर बसेका थिए ।प्राधिकरणका कर्मचारीहरु कार्यालय भित्रै मदिरा पिएर बसेको खबर पाएपछि पत्रकार कृष्ण बिषयमा रिपोर्टिङ लागि पुगेका थिए । तर उनीमाथि कार्यालयकै कर्मचारीले साङघातिक आक्रमण गरेका छन् ।
उनीहरुले आचार्यसँग रहेका दुईवटा मोबाइल नियन्त्रणमा लिइेका छन् । कार्यालयभित्र हामी राजा हो भन्दै ७-८९ जनाले आक्रमण गरेको पत्रकार आचार्यले बताए । कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भएका थिए । ‘कार्यालय प्रमुख सिंहको नेतृत्वमै घटना भएको छ, उनले नै आक्रमण गर्न निर्देशन दिएका हुन्’, आचार्यले भने ।
आचार्य भागेर नजिकै रहेको चितवन पोस्ट दैनिकको कार्यालय पुगेर ज्यान जोगाएका उनका सहकर्मी राजु चौधरीले बताए । अचार्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनले लगाएको कपडा पनि विद्युतका कर्मचारीहरुले च्यातिदिएको थिए ।’ज्यान जोगाउन भागेर चितवन पोस्ट पुग्नु भयो । कपडा पुरै च्यातिएको । चितवन पोस्टकै साथिहरुले समेत चिन्न सकेनछन् । आफ्नो नाम बताएपछि बल्ल चिनेछन्’, चौधरीले भने । चितवनबाट सञ्चालित नारायणी अनलाइन र सञ्चारपत्र दैनिकमा सम्पादक आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिएका छन् ।
यसबीच घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दिउँसै कार्यालयमा खसी काटेर जाँडपार्टी गर्ने कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणका लिएर कारवाही गर्न माग चितवनका पत्रकारले गरेका छन् । उनीहरुले राती अबेरसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा धर्ना दिएर घटनामा संलग्न कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् ।
Discussion about this post