भरतपुर, ३२ असार
चितवनका पत्रकार निकट संघसंस्थाले पत्रकार कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गरेका छन् । शुक्रबार समाचार संकलनका क्रममा पत्रकार कृष्ण आचार्यलाई नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले परिसरभित्रै कुटपिट गरेका थिए । सरकारी कार्यालय परिसरभित्रै कर्मचारीहरुले मदिरा सेवन गरेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार आचार्यमाथि कुटपिट गर्दै लुगा च्यात्ने, मोबाइल खोस्दै दुव्यवहार गरेका थिए ।
नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डीत, प्रेस सेन्टर नेपाल चितवनका सचिव रवि अधिकारी, पश्चिम चितवन पत्रकार मञ्चका सचिव हेमराज रिमालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सांघतिक आक्रमण गर्ने कार्यको भत्सर्ना गर्नुभएको छ । पत्रकारलाई दुव्र्यवहार तथा सांघातिक आक्रमण गर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरिएको छ । प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न समेत माग गरिएको छ ।

पत्रकार महासंघ चितवनले समाचार संकलनका क्रममा पत्रकार आचार्यमाथि दुव्यर्वहार गर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेको छ । प्रेस चौतारीले पत्रकारलाई कुटपिट गर्न निर्देशन दिने भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहलाई विभागीय कारवाहीको समेत माग गरेको छ । प्रेस युनियनले घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेको छ ।
प्रेस सेन्टरले पीडित पत्रकारलाई उचित न्याय दिन राज्यका निकायसँग माग गरेको छ । पश्चिम चितवन पत्रकार मञ्चले पत्रकारलाई दुव्र्यवहार गर्नेहरुलाई पक्राउ गर्न माग गरेको छ । यसैबीच, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारिता गर्न पाउने वातावरण निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी हुनुपर्ने माग गर्नुभएको छ ।
यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानाले एक विज्ञप्ति जारी गर्दै निन्दनीय घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभएको छ । यस्तै राष्ट्रिय दलित पत्रकार संघ चितवनका सचिव श्याम विश्वकर्माद्वारा जारी विज्ञप्तिमा कुकर्म पर्दाफास हुने डरले हातपात गरिएको घटना निन्दनीय भएको उल्लेख छ ।


































Discussion about this post