काठमाडौं । काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए ।
उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एक जनामा हैजा देखिएको छ । उनले भने “ फोहर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । ”
विगतमा काठमाडौंमा लामो समयसम्म फोहर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए ।
बागबजारका दुई जना १८ र २३ वर्षीया युवतीमा गत असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक–एकमा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीन वटा नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।
Discussion about this post