काठमाडौं । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ। जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ प्रतिशतले वृद्धि गरेको हो। यो शुल्क चिकित्सा शिक्षाका सबै तह र विधामा नयाँ शैक्षिक सत्र २०७८/०७९का लागि गत वर्ष कायम भएको शुल्कमा ३.६ प्रतिशत वृद्धि गरिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए।
उनले आयोगको कार्यकारी समितिबाट गठित शुल्क सिफारिस कार्यदलले पेस गरेको प्रतिवेदनअनुसार गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशत वृद्धि गर्दा एमबिबिएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रूपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपियाँ पुग्न गएको जनाए। गत वर्ष एमबिबिएसमा उपत्यकाभित्रका लागि आयोगले ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ कायम गरेको थियो। यसरी एकैपटक एक लाख बढी शुल्क बढ्दा अभिभावकमाथि आर्थिक बोझ थपिएको छ। आयोगका अनुसार मेडिकलतर्फको एमबिबिएसमा धेरै विद्यार्थी भर्ना हुन्छन्।
कोरोना महामारीका कारण विगत दुई वर्षमा थुप्रै अभिभावको रोजगार गुमेको र धेरैको पेसा–व्यवसाय बन्द भएको अवस्थामा एकैपटक एमबीबीएसमा लाख बढी शुल्क बढाएर अभिभावकलाई आर्थिक बोझका साथै मानसिक यातना दिइएको अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताए। उनले हाललाई कुनै पनि शुल्क वृद्धि नगर्न आयोगसँग आग्रह गरे। ‘कोभिडकै कारण पेसा व्यवसाय र रोजगर गुमाई थला परेका अभिभावक उठ्न खोज्दै छन्। यस्तो अवस्थामा आयोगले मेडिकलतर्फ ह्वात्तै शुल्क वृद्धि गर्नु उचितै हुँदैन,’ महासंघका अध्यक्ष भण्डारीले भने, ‘आयोगले शुल्क वृद्धि गरी अभिभावक र विद्यार्थीलाई आर्थिक र मानसिक तनाव दिएको छ। यो अभिभावकलाई मान्य हुँदैन।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
Discussion about this post