काठमाडौं – नेपालमा पहिलो पटक मङ्कीपक्सको संक्रमण भएका शंकास्पद बिरामी भेटिएका छन् । दुबईबाट आएका २६ वर्षीय पुरुषमा ज्वरो र शरीरमा दाग (रास) देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनको नमूना परीक्षण गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको हो ।
अस्पतालकी निर्देशक डा मनीषा रावलले ती व्यक्तिमा ज्वरो र शरीरमा दाग देखिएपछि मङ्कीपक्सको आशंका गरिएको बताएकी छिन् ।यद्यपि अन्य विभिन्न किसिमका रोग एवं संक्रमणको लक्षणसमेत यस्तै हुने भएकाले अहिले मङ्कीपक्स नै हो भनेर भन्न नसकिने उनले बताएकी छिन् ।
‘हामीले नमूना परीक्षणका लागि पठाएका छौं, अरु कुरा पुष्टि भएन भने मङ्कीपक्सको संक्रमण हो कि भनेर पुष्टि गर्न थप परीक्षणका लागि पठाउँछौं’, हाम्राकुरासँग बोल्दै डा रावलले भनिन् ।
ती व्यक्तिलाई अहिले टेकु अस्पतालमै आइसोलेसनमा राखिएको र उनको अवस्था जाँचबुझ भइरहेको डा रावलले बताएकी छिन् ।विश्वका विभिन्न देशमा अहिले मङ्कीपक्सको संक्रमण बढेका कारण ती व्यक्तिमा समेत मङ्कीपक्सको संक्रमण हुनसक्ने आशंका गरिएको हो । दुबईमा एक हप्तादेखि बिरामी भएर नै ती व्यक्ति उपचारका लागि नेपाल आएका हुन् ।
मङ्कीपक्सको संक्रमण परीक्षण गर्ने सुविधा छैन
तर अहिले नै मङ्कीपक्सको संक्रमण परीक्षण गर्नका सुविधा नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले बताएकी छिन् ।मङ्कीपक्सको संक्रमण पीसीआर विधिबाट परीक्षण गरिने भए पनि आवश्यक रिएजेन्टहरु नभएको उनको भनाइ छ ।
यस्तै उनले मङ्कीपक्सको रेपिड टेस्ट किट समेत नभएको बताएकी छिन् । ‘परीक्षण गर्नुपर्याे, शंकास्पद व्यक्ति भेटिए भने नमुना बाहिर पठाउन सकिन्छ, अहिले परीक्षणको सुविधा छैन’, डा झाले भनिन् । यद्यपि उनले अहिले मङ्कीपक्सको शंकास्पद बिरामी भेटिएको जानकारी आफूलाई नभएकोसमेत बताएकी छिन् ।































Discussion about this post