इजरायली राष्ट्रपति आइज्याक हर्जोगले फ्लाईदुबईको विमानमा सह-चालक (को-पाइलट) ले गराउन खोजेको सम्भावित दुर्घटना रोक्न सफल पाँच जना इजरायली यात्रुलाई ‘नागरिक वीरता पुरस्कार’ दिने घोषणा गरेका छन्। सह-पाइलटलाई नियन्त्रणमा लिएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको भन्दै राष्ट्रपति हर्जोगले ती यात्रुहरूको साहसको उच्च प्रशंसा गर्दै इजरायलका तर्फबाट धन्यवाद ज्ञापन गरेका हुन्।
इजरायली अधिकारीहरूका अनुसार उडानका क्रममा सह-चालकले ककपिटभित्र मुख्य चालक (पाइलट) माथि चक्कु प्रहार गरेपछि भारतीय नागरिक रहेका पाइलट स्मित मच्छाले घाइते अवस्थामै ककपिटको ढोका खोलेर यात्रु तथा चालक दलका सदस्यहरूलाई सचेत गराएका थिए। त्यसपछि यात्रुहरूले तुरुन्तै ककपिटमा पुगेर आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिएका थिए। राष्ट्रपति हर्जोगले चरम संकटका बिच बुद्धिमत्तापूर्वक विमान बचाउन सफल भारतीय पाइलट मच्छाको समेत मुक्तकण्ठले प्रशंसा गरेका छन्।
राष्ट्रिय नागरिक वीरता पुरस्कार पाउनेहरूमा ताली मानेस, उनका पति, यानिभ हायुन र आसफ राजुआन लगायत पाँच जना रहेका छन्। ककपिटमा हल्लीखल्ली सुनेर ताली मानेसले पहिलो पटक यात्रुहरूलाई सचेत गराएकी थिइन् भने पेसाले प्लम्बर रहेका यानिभ हायुनले ककपिटमा छिरेर सह-चालकलाई नियन्त्रणमा लिने पहिलो प्रयास गरेका थिए। हायुन स्वदेश फर्किएपछि उनलाई बेन गुरियन विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यक्तिगत रूपमा स्वागत गरेका थिए।

































Discussion about this post