काठमाडौं । रास्वपाका सांसद मनिष झाले शनिबारदेखि जनकपुरको सार्वजनिक जमिनमा डोजर चलेपछि स्थानीय त्रसित भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगभग ६५ वटा घरमा डोजर चलेको बताए । उनले भने, ‘गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास छ । मैले गुठी संस्थानसँग गरेको समन्वयमा १५ दिनभित्र ठूलाबडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको भाडामा लगाइएको जमिन जसको निजी व्यक्तिहरूले भाडा खाइरहेका छन्, यी ठाउँहरू पनि धेरै चाँडो नोटिस दिएर त्यसलाई खाली गराइनेछ ।’
जनकपुर नेपालको उपमहानगरपालिकाहरू मध्ये सबैभन्दा धेरै सार्वजनिक जमिन भएको ठाउँ भएको उनको भनाइ छ । झाले थपे, ‘२०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा निकालिएको प्रतिवेदनमा लगभग ९५० बिघा जमिन अपचलन गरिएको भन्ने रिपोर्ट आएको थियो। त्यही रिपोर्टको आधारमा अहिले हटाउने काम भइराखेको छ। प्रधानमन्त्रीको पनि विशेष ध्यान राखेर काम भइराखेको छ, त्यसप्रति हामी कृतज्ञ छौँ ।’उनले यसको लक्ष्य र प्रहार केवल गरिबहरूमाथि मात्र हुन नहुने उनको भनाइ छ ।
उनले थपे, ‘सबैमाथि समान व्यवहार गरियोस् । यसको लक्ष्य अधिग्रहण गरिएको जनकपुरको ९५० बिघा जमिनमा हो । त्यो जग्गालाई सार्वजनिक रूपमै त्यसलाई फर्काउने अभियान सफल होस्, सजग होस् भन्ने सन्तुलित अनुरोध छ ।’

































Discussion about this post