काठमाडौँ। नेपालमा खाना पकाउने एलपी ग्यासको आयात र आपूर्ति नियमितभन्दा बढी भइरहेको भए पनि बजारमा कृत्रिम अभाव देखिएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीहरूका अनुसार दैनिक मागको तुलनामा आयात बढी भइरहेको अवस्थामा उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिण्डर सञ्चय (होर्डिङ) गर्दा आपूर्ति प्रणालीमा समस्या उत्पन्न भएको हो।
नेपाल ग्यास उद्योग प्रा.लि.का प्रबन्ध सञ्चालक गोकुल भण्डारीका अनुसार नेपालको सामान्य मासिक खपत करिब ३५ लाख सिलिण्डर अर्थात् दैनिक १ लाख १० हजार सिलिण्डरको माग हुने गरेको छ। तर, हाल नेपाल आयल निगमले दैनिक १ लाख ३० हजार सिलिण्डर बराबरको ग्यास आयात गरिरहेको छ। नियमित खपतभन्दा दैनिक २० हजार सिलिण्डर बढी बजारमा पठाइँदा पठाइँदै पनि उपभोक्तामा देखिएको मनोवैज्ञानिक त्रास र सञ्चय गर्ने प्रवृत्तिका कारण बजार अझै सहज हुन सकेको छैन।
विगतमा ७ किलोका आधा सिलिण्डर वितरण गर्ने निर्णय कार्यान्वयनमा आउन चार महिना ढिलाइ हुँदा आयातमा कमी आएको र उपभोक्ताको घरमा भएको मौज्दात रित्तिएको थियो। सो अवधिमा करिब ३० हजार मेट्रिक टन अर्थात् २१ लाख सिलिण्डर बराबरको आयात घटेको थियो। अहिले अवस्था सामान्य हुँदा पनि सोही रिक्तता पूर्ति गर्न र भविष्यमा अभाव हुने डरले उपभोक्ताले एकैपटक धेरै सिलिण्डर भर्न खोज्दा समस्या जटिल बनेको भण्डारीको विश्लेषण छ।
बजारमा हाल १ करोड ७५ लाख थान सिलिण्डरहरू अस्तित्वमा रहेका छन्, जुन नेपालको पाँच महिनाको कुल खपत धान्न पर्याप्त हो। यद्यपि, ती सबै सिलिण्डरहरू उद्योगसँग नभई उपभोक्ताका घरमा खाली वा आधा भरिएको अवस्थामा रहेका छन्। कुल जनसंख्याको ४० प्रतिशतले मात्र ग्यास प्रयोग गर्ने भए तापनि सञ्चय गर्ने प्रवृत्तिका कारण विद्यार्थी र न्यून आय भएका वर्गहरू बढी मारमा परेका छन्। काठमाडौंको बालाजु लगायतका क्षेत्रमा लागेका लाइनमा वास्तविक समस्यामा परेका उपभोक्ताभन्दा पनि अनावश्यक स्टक राख्न चाहने र एउटै व्यक्ति पटक–पटक आउने गरेको पाइएको छ।
आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन उद्योगीहरूले दैनिक रिपोर्टिङ सुरु गरेका छन्। कुन उद्योगले कति आयात गर्यो र कुन डिलरलाई कति परिमाणमा ग्यास पठायो भन्ने विवरण आयल निगमलाई उपलब्ध गराउन थालिएको छ। साथै, कुन विक्रेताले कुन ग्राहकलाई ग्यास बेच्यो भन्ने रेकर्डसमेत राख्न सरकारले निर्देशन दिएको छ, जसको कार्यान्वयन प्रक्रिया अघि बढेको व्यवसायीहरूले बताएका छन्। यसले ग्यासको न्यायोचित वितरण सुनिश्चित गर्ने र कालोबजारी रोक्ने अपेक्षा गरिएको छ।
ग्यास अत्यावश्यक वस्तु भएको र यसमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेकाले यसलाई व्यवस्थित गर्न राज्यको भूमिका महत्त्वपूर्ण हुने प्रबन्ध सञ्चालक भण्डारीले बताएका छन्। पेट्रोलियम पदार्थको जस्तै ग्यासको पनि भण्डारण क्षमता वृद्धि गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा जानुपर्ने र भारतबाट पाइपलाइनमार्फत ग्यास ल्याउने योजना अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्। नेपालमा ग्यासको आयात पूर्ण रूपमा भारत सरकारसँगको सरकार–सरकार (जी–टु–जी) सम्झौतामा आधारित रहेकाले आपूर्ति बढाउन सरकारी स्तरबाटै थप पहल आवश्यक रहेको उनको बुझाइ छ।
हालको अवस्था नाकाबन्दी वा कोभिड–१९ को समयको जस्तो अभावको स्थिति नभएको स्पष्ट पार्दै, यदि उपभोक्ताले १५ दिन वा एक महिनालाई पुग्ने मौज्दात हुँदाहुँदै थप सिलिण्डर माग नगर्ने हो भने यो समस्या केही दिनभित्रै समाधान हुने भण्डारीले बताएका छन्। अनावश्यक होर्डिङ नगरी अत्यावश्यक परेका व्यक्तिहरूलाई सहज रूपमा ग्यास पाउन दिनका लागि जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्।
त्यसैगरी, नेपालमा पेट्रोलियम र विष्फोटक पदार्थसम्बन्धी ठोस कानुनको अभावका कारण यहाँका उद्योगहरू विदेशी मापदण्ड र भारतीय निकायको प्रमाणीकरणका आधारमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे। उद्योगको सुरक्षा, अनुगमन र नियमनका लागि आफ्नै स्पष्ट कानुन आवश्यक रहेको उनको भनाइ छ। साथै, प्रतिसिलिण्डर ग्यासमा राज्यलाई करिब ९०० रुपैयाँ घाटा भइरहेको स्थितिमा व्यावसायिक र घरायसी प्रयोजनका लागि एकै किसिमको मूल्य तोकिएकाले अनुदानको व्यवस्थामा पुनरावलोकन गर्दै लक्षित वर्गलाई मात्र सहुलियत दिने नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन्।


































Discussion about this post