पाकिस्तानकाे ब्रड पिक हिमपहिराेमा हराइरहेकामध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटिएको छ। काराकाेरम हिमशृंखलाअन्तर्गत पर्ने ब्रड पिक हिमाल आराेहणका क्रममा हिमपहिराे खस्दा विश्वप्रसिद्ध नेपाली आराेही निर्मल पुर्जासहित १० जना सम्पर्कविहीन भएका थिए।
शुक्रबार अमेरिकी नागरिक म्यालोरी गाइसको शव भेटिएपछि बेपत्तामध्ये तीन जनाकाे विवरण खुलेकाे हाे।यसअघि शुक्रबारै ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङकाे शव पहिचान भइसकेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले शुक्रबार ब्रड पिकमा चारवटा शव फेला परेको बताए पनि पछि उसले आफ्नो भनाइ सच्याउँदै दुईवटा शव र एउटा मानव शरीरको अंग फेला परेको बताएको थियो।स्थानीय क्षेत्र गिलगिट-बाल्टिस्तानको सूचना विभागका अनुसार पहिचानसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्न तीन जनाकाे शव हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।
बीबीसीका अनुसार शुक्रबार भेटिएका गाइस ३९ वर्षका थिए। उनी टेक्सास राज्यको सान एन्टोनियो सहरका बासिन्दा थिए।१० सदस्यीय पर्वतारोहण टोलीका सदस्यमध्ये अझै ७ जनाकाे अवस्था स्पष्ट हुन सकेकाे छैन।पाकिस्तान रकाे अल्पाइन क्लबका अनुसार हवाई ड्रोनमार्फत अन्य केही व्यक्तिहरू ब्रड पिक क्षेत्रमा देखिएकाे भए पनि उनीहरूकाे अवस्था स्पष्ट हुन सकेकाे छैन। शनिबार उद्धार अभियान पुनः सुरु भएपछि मात्र उनीहरकाे अवस्था स्पष्ट हुनसक्ने बताएकाे छ।

































Discussion about this post