देशिक रोजगारीमा रहेका नेपाली कामदारलाई असोजदेखि प्राथमिक सेयर (आइपिओ)मा १० प्रतिशत सेयर छुट्याइने भएको छ । नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै बोर्ड अध्यक्ष रमेशकुमार हमालले चार महिनाभित्र बजेटमार्फत सम्बोधन भएको विषयलाई समेट्ने गरी काम भइरहेको जानकारी गराएका हुन् ।
कामदारलाई सर्वसाधारण सेयरमार्फत नै छुट्याएर दिइने हो या छुट्टै सेयर आरक्षण दिइने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ । यो विषयमा कार्यविधि बन्न बाँकी रहेको बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले बताए । उनले भने, ‘अहिले लगानीकर्ताको मनोबल उच्च राख्ने गरी चार महिनाभित्र केही विशेष काम गरिरहेका छौँ, त्यसले लगानीकर्तालाई थप मनोबल बढाउन टेवा पुग्छ ।’ सेयर कर्जामा रहेको व्यवस्थाको विषयमा लगानीकर्ताबाट आइरहेको गुनासोलाई नजिकबाट बुझेर त्यसमा लागिरहेको पनि उनको भनाइ छ । चार महिनामा साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्लाटफर्म तयार गरिनेसमेत उनले बताए ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले प्रयास गरिरहेको बताए । पुँजी बजारलाई अन्तर्राष्ट्रियमैत्री प्रविधिसहितको बनाउन सुधार गर्नेसमेत उनले बताए । धितोपत्रसम्बन्धी ज्ञानको प्रचार पर्याप्त हुन नसक्दा अज्ञानतामा लगानीकर्ताले समस्या भोग्नुपरेको उनले बताए । बुक–बिल्डिङलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि पहल भइरहेको र ठूला कम्पनी दोस्रो बजारमा आउने वातावरण बनाउन लागिरहेको अर्थमन्त्री शर्माले बताए । मार्जिन ट्रेडिङको विषय तथा इन्साइडर ट्रेडिङको अन्त्य गर्न धितोपत्र बोर्ड लाग्नुपर्ने उनले बताए । अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेप्से, धितोपत्र बोर्ड सबैमा समन्वय हुनुपर्नेमा आफ्नो जोड रहेको उनले बताए ।
सेयर बजार सुझाव समिति गठन
सेयर बजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन भएको छ । अर्थ मन्त्रालयले २५ जेठमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग छलफल गरेर चार सदस्यीय सुझाव समिति गठन गरेको हो । उक्त समितिमा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव, बोर्डको तर्फका कार्यकारी निर्देशक, राष्ट्र बैंकको तर्फबाट प्रतिनिधिलगायत रहनेछन् ।
Discussion about this post