चितवन । जिल्ला समन्वय समिति चितवनको निर्वाचन तालिका सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो तालिका सार्वजनिक गरेको हो । जस अनुसार जिससको मतदान जेठ ३१ गते हुने भएको छ । त्यस अघि जेठ २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ ।
सोही दिन दिउँसो १ देखि २ बजेसम्म नामावली सच्याउन वा छुट नाम समावेशका लागि समय छुट्टाईएको कार्यालयले जनाएको छ । दिउँसो २ देखि ३ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन गर्ने तालिका छ । ३ देखि ५ बजेसम्म मतदाताको विरोधमा उजुरी दिन सकिने कार्यालयले जानकारी दिएको छ ।
मतदाताको विरोधमा उजुरी परेको खण्डमा २९ गते बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म जाँचबुझ गर्ने तालिका छ । सोही दिन १२ देखि १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । २९ गते दिउँसो १ देखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३० गते बिहान १० बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने ११ देखि १२ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्टाईएको छ । १२ देखि १ बजेसम्म मनोनयनपत्रको जाँच तथा उजुरीमाथि निर्णयको तालिका रहेको छ ।
सोही दिन १ देखि २ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने तथा २ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय छुट्टाईएको प्रमुख निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने ४ बजेपछि उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । ३१ गते बिहान १० बजेबाट मतदान सुरु हुनेछ ।
मतदानका लागि मध्यान्ह १२ बजेसम्मको समय छुट्टाईएको छ । जिसस प्रमुखका लागि नेपाली कांग्रेस चितवनले पूर्ण बहादुर रानाभाटको नाम प्रदेश समितिमा सिफारिस गरिसकेको छ । अन्य दलले अहिलेसम्म औपचारिक रुपमा आफ्नो उम्मेदवार सार्वजनिक गरेको छैन ।
Discussion about this post