Nirvik Khabar

पोखरा बसपार्क : बर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे !

२५ जेठ, पोखरा 

दाङदेखि पोखरा घुम्न आएका विश्व बुढा पोखरा बसपार्कमा झर्नेबित्तिकै नाक खुम्च्याउन थाले । बुधबार बिहानसम्मै परेको झरीका कारण बसपार्क क्षेत्र हिलाम्मे थियो भने दुर्गन्ध उस्तै । तर यो दृश्यले उनलाई अप्ठ्यारो भए पनि आश्चर्य भने लागेन ।

किनकि उनी पोखरा बसपार्क ओर्लंदा देखेको, भोगेको यो दृश्य पहिलो पटक भने होइन । ‘५ वर्षअघि कलेजबाट टुर आउँदा पनि यस्तै थियो । त्यतिबेला पानी नपरेर होला, यत्तिको त थिएन,’ बुढाले प्रतिक्रिया दिए, ‘अहिले त राम्रो भयो होला भनेको, उस्तै रहेछ ।’

घर्तीले भने जस्तै निर्माण थालिएको करिब ५ दशक पुग्न लाग्दा पनि बसपार्क अधुरै छ । बरु अतिक्रमणको चपेटामा परेर आधाभन्दा बढी साँघुरो भइसकेको छ । अतिक्रमण गरेर संचरना बनाउनेमा मुख्य राजनीतिक दलकै भातृसंगठन समेत छन् ।प्रत्येक पटक चुनावी नारा बन्ने तर, दशकौं बितिसक्दा पनि पोखरा बसपार्कले गति लिन सकेको छैन ।

पहिलो पटक २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले बसर्पाक बनाउन २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर बसपार्ककै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले १८७ रोपनी जग्गा बसपार्कका नाममा छुट्याइयो ।अधिग्रहण गरिएको अर्को वर्ष ०३३ सालमा बसपार्क क्षेत्रको ४ किल्ला छुट्याएरै राजपत्रमा प्रकाशन पनि गरिएको थियो । जग्गा अधिग्रहण गरिए पनि मुआब्जा विवाद कायम रहेकाले तत्कालीन जग्गाधनीहरुले अदालतमा मुद्दा दायर गरेका थिए । ०५२ सालमा सर्वोच्च अदालतले जग्गाधनीलाई सहमति बमोजिम क्षतिपूर्ति दिन आदेश जारी गर्‍यो ।

तर बसपार्क निर्माण अगाडि बढेन । खाली जग्गामा पोखरा विमानस्थल बनाउँदा वरिपरि ‘खुद्रे व्यापार’ हरुलाई सोही बसपार्कको जग्गामा ल्याइयो । १५ वर्षका लागि बसपार्कको जग्गामा व्यापार गर्ने सहमति गरेर ल्याइए पनि अहिलेसम्म उनीहरुको व्यवस्थापन गरिएको छैन ।त्यसपछि त्यहाँ पोखरा वरपरका सुकुम्बासीहरुले आश्रय लिन थाले । अहिले बसपार्क व्यवस्थापनको सबैभन्दा ठूलो टाउको दुखाइ नै त्यहाँ रहेका सुकुम्बासी बन्न पुगेको छ । यसबीचमा बसपार्कको कतिपय जग्गा निजीकरण पनि भइसकेका छन् ।

तर राजनीतिक दलहरुले उनीहरुको व्यवस्थापन गर्नुको साटो ‘भोट बैंक’का रुपमा आश्वासन बाँड्दै पटक पटक प्रयोग गर्दै आइरहेका छन् । अहिले बसपार्क क्षेत्र बसपार्क कम, मानव बस्ती बढी लाग्छ । जानकारहरुका अनुसार अब बसपार्क क्षेत्रमा करिब २५ रोपनी क्षेत्रफलमात्रै बाँकी छ ।

बसपार्कको जग्गा नगर विकास समितिको मातहतमा छ । संघीयता कार्यान्वयनपछि समितिको अध्यक्षमा स्थानीय तहका प्रमुख रहने व्यवस्था छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा पनि बसपार्क सुधार्ने भन्दै छानबिन समिति गठन गरिएको थियो । पोखरा महानगरपालिका वडा न‌ं ९ का तत्कालीन वडाध्यक्ष रामराज लामिछानेको नेतृत्वमा ०७५ फागुन १० गते ४ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले ०७६ वैशाख ६ गते बसेको महानगरको कार्यपालिका वैठकमा प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनले बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा ‘अवैध बसोबास’ बढेर करिब ४० रोपनी जग्गामात्रै बाँकी रहेको देखाएको थियो । उक्त प्रतिवेदनअनुसार २७६ परिवार त्यहाँ अवैध रुपमा बसोबास गरिरहेका छन् ।महानगरका तत्कालीन मेयर जिसीले बसपार्क क्षेत्रमा अवैध रुपमा बसोबास गरिरहेकाहरु वास्तविक सुकुम्बासी हुन् या होइनन् भन्ने पुनः छानबिन गरेर नतिजा निकाल्ने बताएका थिए ।

‘हाम्रो पहिलो प्राथमिकता भनेकै बसपार्क व्यवस्थित बनाउनु हो । यसमा कुनै हेलचेक्र्याइँ हुँदैन । बसपार्क क्षेत्रमा जग्गाधनी भएकालाई उचित क्षतिपूर्ति दिइन्छ । बाँकीलाई अन्यत्र व्यवस्थापन गरिन्छ,’ तत्कालीन मेयर जिसीले भनेका थिए, ‘बसपार्क बनाउन बजेट अभाव छैन । मेरै कार्यकालमा सुरु हुन्छ ।’

तर, जिसीको पाँच वर्षे कार्यकाल सकिँदासम्म न बसपार्क निर्माण योजना अगाडि बढ्यो न त्यहाँ बसोबास गरिरहेका ‘अवैध’ भनिएका सुकुम्बासीको समस्या नै समाधान भयो । बसपार्क समयमै व्यवस्थित नगरिँदा बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

३ वर्षभित्र सिटी बसपार्क बन्छ : मेयर आचार्य

पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले पोखरा बसपार्क अन्यत्रै बनाउने बताएका छन् । बुधबार बसपार्क क्षेत्रमा बनाउन लागिएको नाला शिलान्यास गर्दै उनले हालको बसपार्कलाई सिटी बसपार्क बनाउने र मुख्य बसपार्क भने पोखरा ३२ स्थित लामेआहालमा बनाइने जानकारी दिएका हुन् ।

‘यहाँ जग्गाको समस्या छ । अरु अन्य केही समस्याहरु पनि छन् । ती सबै समस्याको समाधान गरेर हामी ३ वर्षभित्र आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं,’ उनले भने, ‘कसैले अन्याय हुन्छ कि भनेर सोच्न जरुरी छैन ।’मेयर आचार्यले पहिलेभन्दा अहिले पोखराको जनसंख्या दोब्बर भइसकेकाले सोहीअनुसार पूर्वाधार निर्माण गर्नुपर्ने बताए । मेयर आचार्यसँगै नाला शिलान्यास गरेका प्रदेशका भौतिक विकासमन्त्री कुमार खड्काले बसपार्क व्यवस्थित बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको सुनाए ।

यही आर्थिक वर्षभित्र निर्माण सक्ने गरी बसपार्कको नाला बनाउन प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । पोखरा वडा नम्बर ३२, लामेआहालमा प्रदेशस्तरीय बसपार्क बनाउने योजना पनि गण्डकी प्रदेश सरकारकै योजना हो । उक्त योजनाका लागि १७२ रोपनी जग्गा चाहिन्छ । जसमध्ये १ सय २० रोपनी जग्गा सार्वजनिक हो भने बाँकी व्यक्तिगत हो । यस्तै एक अर्ब ४२ करोड रुपैयाँ लाग्ने प्रदेश सरकारको अनुमान छ । चालु आबमा भने १ करोड विनियोजन भएको छ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस