काठमाडौँ । मन्त्रिपरिषद हेरफेर गर्ने समयमा नेकपा माओवादी केन्द्रले आफ्नो सीट संख्या कम भएको जनाएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अहिले भैरहेकै मन्त्रालयमा आफ्ना मन्त्रीहरु रहनु पर्ने भन्दै संख्या घटाउन नमानेको बताइएको छ । नेकपा एसले आइतबार मात्रै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाउने निर्णय गरेको थियो ।
त्यसपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले मन्त्री भएकाहरूलाई पहिले नै ६ महिनाको लागि मात्रै पठाएको प्रतिक्रिया दिएका थिए । ‘मन्त्रिपरिषद पुनर्गठन गर्ने बेला भएपछि प्रचण्डले आफूलाई एउटा मन्त्रालय चाहिन्छ भनेपछि उहाँहरुबीच भेटघाट भएको हो’, एस पार्टीका एक केन्द्रीय सदस्यले भने ।
प्रचण्डले एसलाई हैसियतभन्दा बढी मन्त्रालय दिइएका कारण एउटा मन्त्रालय आफूले पाउनु पर्ने दाबी गरेका थिए । पछिल्लो पटक कानून मन्त्रालय पनि नेकपा एसले पाएको थियो ।
भेटघाटमा एस पार्टीका अध्यक्ष नेपालले आफूले कुनै पनि मन्त्रालय नछाड्ने बताएका थिए । प्रचण्डले आफ्ना केही नेताहरुलाई मन्त्री बनाउनु पर्ने भएकाले एउटा मन्त्रालय छाडिदिन आग्रह गरेका थिए ।
Discussion about this post