चितवन,- नुवाकोटबाट चितवनको भरतपुर–२ क्षेत्रपुरस्थित तरकारी बजारमा बिक्रीका लागि ल्याइएको गोलभेडामा अत्यधिक मात्रामा विषादी भेटिएपछि करिब चार सय किलो गोलभेडा नष्ट गरिएको छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार नियमित परीक्षणका क्रममा नुवाकोटबाट ल्याइएको गोलभेडामा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने मात्रामा विषादी भेटिएको हो।
उनले बताएअनुसार, नष्ट गरिएको गोलभेडा २० क्रेट बराबर (झन्डै ४ सय किलो) थियो। “नियमित परीक्षणक्रममा अत्यधिक विषादी भेटिएपछि तुरुन्तै नष्ट गरिएको हो,” कँडेलले जानकारी दिए। संघ परिसरमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा गरिएको परीक्षणमा अर्गानो फस्फेट नामक विषादीको मात्रा ९१.८९ प्रतिशत पाइएको हो। कृषि मन्त्रालयको मापदण्डअनुसार, अर्गानो फस्फेटको अधिकतम स्वीकृत मात्रा ३५ प्रतिशत हो। ४५ प्रतिशतभन्दा बढी मात्रा भेटिएमा तरकारी नष्ट गरिएको छ।
तरकारी बजारका एक व्यापारीका अनुसार नुवाकोटबाट दैनिक ४–५ ट्रक गोलभेडा चितवन ल्याइन्छ। एक ट्रकमा औसत १५० क्रेटसम्म गोलभेडा अट्ने र प्रत्येक क्रेटमा झन्डै २२–२३ किलो गोलभेडा हुने बताइन्छ। उक्त व्यापारीका अनुसार परीक्षणमा समस्याग्रस्त देखिएको एउटै पसलको गोलभेडा मात्र नष्ट गरिएको हो। “त्यो पसलको २० क्रेट मात्रै नष्ट भयो। बाँकी पसलका गोलभेडा भने परीक्षणबिना नै बजारमा गइसके,” उनले बताए।
कँडेलका अनुसार अहिले गोलभेडाको सिजन नभएकाले किसानले टनेल खेतीमार्फत उत्पादन गरेका छन्। चितवनमा कम उत्पादन हुने भएकाले पहाडी जिल्ला – विशेषतः नुवाकोट, धादिङ र काठमाडौंबाट गोलभेडा भित्र्याइँदै आएको छ। “लामो समयदेखि व्यावसायिक रूपमा खेती गर्दै आएका किसानमा यस्तो समस्या देखिएको छैन,” कँडेल भन्छन्, “तर, केही किसानले छोटो समयमा धेरै कमाउने लोभमा लापरवाही गरेका छन्।”
फलफूल तथा तरकारी थोक व्यवसायी संघका पूर्व अध्यक्ष थीरप्रसाद धितालका अनुसार विषादीको मात्रा अत्यधिक भेटिएको विषयमा सम्बन्धित किसानलाई सचेत गराइएको छ।“नुवाकोटबाट आएको गोलभेडामा समस्या देखिएपछि नष्ट गरिएको छ। हामीले किसानलाई पनि सूचना पठाइसकेका छौं,” उनले बताए।

































Discussion about this post