‘बेचेर सपना मैले रात किनेको छु…
होस् लिलाममा राखी मात किनेको छु…’
यो पछिल्लो समय सबै पुस्ताका मन–मष्तिष्कमा गुञ्जने गजल गीत हो । यो गीतले युट्युब, टिक्टक र फेसबुक जस्ता सामाजिक संजाल सर्वधिक दर्शक–स्रोता कमाएको मात्र छैन, यो गीत बालबालिका, युवा पुस्ता र वृद्धवृद्धाका मनमष्तिष्कमा सदावहार गुञ्जिरहने पनि बनेको छ ।
यो गजल गीतमा गुञ्जने कर्णप्रिय स्वर उनै चर्चित गायक थानेश्वर गौमतको हो । संगीतको क्षेत्रमा गायक गौतमको आगमनसँगै नेपालमा पछिल्लो समय गजल गायनले ठूलो फड्को मारेको छ । गजल लेखन र वाचन भने पहिलेदेखि नै राम्रो रहेको मान्न सकिन्छ । गजल गायनमा छुट्टै पहिचान र नौलोपन दिएका गायक गौतमले अहिलेसम्म दुई दर्जन गजलहरुमा स्वर भरेका छन् ।
‘बेचेर सपना’कै कारण गायक गौतमका विगतमा केही आझेलमा परेको हो कि भनिएका अन्य थुप्रै गीतहरु अहिले खोजीको सूचिमा पर्दै आएका छन् । ‘बिर्सिएर श्रंगारमा गाजल लगाइन छेउ’, ‘पाउजु बजाएर नाच’, ‘छ मसँग सबै छ’, ‘तिम्रा यादहरु’, ‘टिपिक्कै चोलीको तुना’ जस्तै धेरै गजल गीतहरु अहिले सबैतिर छाएका छन् ।
क्लासिकल आलाप राखेर गौतमले नेपाली लोक गीतमा पनि मिठासपूर्ण स्वर भरेका छन् । उनले ‘बाटो बन्द भो’, ‘नाकमा फुली ए मेरी ठुली’, ‘छुटनलाई पो रैछ क्यारे’, ‘पिरतीको पाइला जस्ता चर्चित लोक गीतसमते गाएका छन् ।
सांगीतिक यात्रा
छविलाल गौतम र विष्णुकुमारी गौतमको कोखबाट बागलुङको गलकोटमा जन्मिएका थानेश्वर गौतम बाल्यकालदेखि नै संगीतमा रुची राख्थे । स्कुल पढ्दा पनि साथीभाइहरु जम्मा पारेर गीत सुनाउने गरेको उनी बताउँछन् । ‘प्रतियोगिताहरुमा भने सहभागी हुने अवसर खासै जुरेन’, उनी भन्छन् ।
गायक गौतम बाल्यकालदेखिको आफ्नो स्वभावबारे मुस्कुराउँदै भन्छन्, ‘गाउँमा पूजाआजा, विवाह, व्रतवन्धहरु जस्ता कार्यक्रममा जान भने सानोमा खुब मन लाग्ने ।’ सांगीतिक यात्रामा लाग्न परिवारको पनि राम्रो साथ रहेको उनी सुनाउँछन् । सानैदेखि रेडियो सुनेर गीतहरु गुनगुनाउने गौतमले स्टुडियोमा गाएको पहिलो गजल ‘गाजल लगाइन छेउ’ हो, जसले राम्रो चर्चा कमायो । यो गीत अहिलेसम्म पनि दर्शक–स्रोताले मन पराइरहेका छन् । अहिले आफ्नो पेशा नै संगीत भएको उनी बताउँछन् । संगीत यसै गाउनु भन्दा सिकेर, बुझेर गाउँदा राम्रो हुने उनी सुझाव दिन्छन् ।
https://www.youtube.com/watch?v=9nQbThCbRFo&feature=youtu.be
गजलका साथै लोक गीत, सालैजो र रोइलामा पनि गौतमको स्वर
गायक थानेश्वर गौतमले गजल गायनको साथसाथै लोक गीत, सालैजो र रोइला भाका पनि गाएका छन् । उनले सालैजो र रोइला गीतहरु केही लेखेका पनि छन् । ‘स्याङजा गएँ पाल्पा गएँ बटौलीमा गइन’, ‘चोलीयाको तुना’, ‘उस्तै छ वाइ मेरो त’ उनका रोइला गीतहरु हुन् । ‘नाकमा फुली’, ‘मार्यो नी त्यो मायाँले’, ‘कालेमा काले’, ‘झ्याम्मै पर्यो साईँली’ उनका सालैजो भाकाहरु हुन् भने गौतमले भजनहरु पनि गाएका छन् ।
‘घुम्टेमुनी कौलेनी साईँली’ नामक पञ्चेबाजामा सालैजो गीत पनि गाएका गौतम सांगीतिक कार्यक्रमका लागि देशविदेश तिर पनि प्रशस्तै पुगेका छन् । क्यानडा, अष्ट्रेलीया, बेलायत, जापन लगायत ३० देशहरुमा सहभागी भइसकेको अनुभव उनी सुनाउँछन् । वाद्यवादनहरुमा उनी हार्मोनियम निकै राम्रो बजाउँछन् । बाँसुरी र मादल पनि बजाउन पनि गौतम रुचि राख्नछन् ।
उनले त्रिभुवन विश्व विद्यालयबाट संगीत विषयमा स्नातकोत्तर गरेका गरेका छन् ।
नेपाली संगीतमा नौलो आवाज
संगीत क्षेत्रका अन्य गायक गायिकाको भन्दा गौतमको गाउने शैली निकै नौलो मानिन्छ । लोक गीतलाई क्लासिकल आलाप हालेर गजलको लयमा गाउने उनमा क्षमता छ ।
‘छुट्नलाई पो रैछ क्यारे सानु…
तिम्रो मेरो यति धेरै माया बसेको…’
गौतमले क्लासिकल आलापबाट उठान गरेर गजल शैलीमा तयार पारेको यो गीत सुन्नेहरुले नेपालको संगीत क्षेत्रमा एउटा फरक र युनिक प्रयोग गरेको प्रतिक्रिया दिएका छन् । संगीतलाई बिकाउने भन्दा पनि सुन्न लायक बनाउने प्रयत्न आफ्नो प्रयत्न रहेको गायक गौतम बताउँछन् । हिजोआज उनले जुन गीत गाउँछन्, त्यो गीत हिट हुँदै आएका छन् ।
Discussion about this post