Nirvik Khabar

चितवनका दुई हजार बढी करदाता निलम्बित, विवरण नबुझाउनेमाथि विभागको कारबाही

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका २ हजार ३७३ मूल्य अभिवृद्धि करदातालाई निलम्बन गरिएको छ। आन्तरिक राजस्व विभागले विगत छ महिनासम्म लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका कारण उनीहरूलाई निलम्बन गरेको हो।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका कुल २ हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन्। विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि भने २७ जनाले विवरण बुझाएका थिए। निलम्बनमा परेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छ भने उपभोक्तालाई पनि त्यस्ता संस्थाबाट खरिद-बिक्री नगर्न जानकारी गराइएको छ।

विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा व्यवस्था भएअनुसार लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरी कारबाही गरेको हो। पौडेलले यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको जानकारी दिए। निलम्बित करदाताले आफ्नो कारोबार पुनः सञ्चालन गर्न चाहेमा बाँकी रहेका सबै कर विवरण पेस गर्नुपर्नेछ।

जिल्लामा १० हजारभन्दा बढी मूल्य अभिवृद्धि करदातासहित कुल ७२ हजारभन्दा बढी करदाता छन्। सूचना अधिकारी पौडेलले करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूले बेवास्ता गर्दा विभागको कारबाही भोग्नुपरेको बताए। उनले भने, “करदाताले नबुझेर होइन, कतिपयको कारोबार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन।” कारोबार नभए पनि राज्यलाई विवरण बुझाउनुपर्छ भन्ने शिक्षा करदातामाझ पुर्याउनुपर्ने समय आएको उनले औंल्याए। विभागले देशभरबाट ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस