Nirvik Khabar

अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

Advertisements
Single Page Long - 2

भरतपुर –चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय पढाइमा उत्कृष्ट नतिजा ल्याउन थालेका छन्। चितवनको राप्ती नगरपालिका–१३ मा रहेको कान्देश्वरी आधारभूत विद्यालय, जहाँ चेपाङ बालबालिका मात्र पढ्छन्, यस वर्ष कक्षा ८ को परीक्षामा पालिकाकै उत्कृष्ट विद्यालय बनेको छ।

कक्षा ८ को पढाइ सुरु गरेको पहिलो वर्षमै यो नतिजा आएको हो। आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ बालबालिकाको पढाइमा सुधार भएको प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए। शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगले यो सम्भव भएको उनले बताए। यस वर्ष १३ विद्यार्थीले कक्षा ८ को परीक्षा दिए, जसमध्ये एक जनाले ए प्लस, सात जनाले ए र दुई जनाले बी प्लस ल्याए।

‘पहिलो वर्षमै यस्तो नतिजा ल्याउँदा हामी निकै खुसी छौँ,’ उनले भने, ‘शिक्षक र विद्यार्थीको मेहनतले यो सम्भव भएको हो।’ यो नतिजाले सबैलाई उत्साहित बनाएको उनले बताए। लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि यहाँको शिक्षामा सुधार आएको हो। ‘यहाँ बिहान ४ देखि राति ९ बजेसम्म पढाइ हुन्छ,’ उनले भने, ‘शिक्षकहरू पनि आवासीय रूपमा बस्छन्।’

राप्ती नगरपालिकामा २७ सामुदायिक विद्यालय छन्। तीमध्ये कान्देश्वरीसहित तीन विद्यालयले कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा ल्याएको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले बताइन्। यो नतिजालाई नगरपालिकाले सकारात्मक मानेको उनले बताइन्। विकट क्षेत्रको विद्यालयले बजारका विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने उदाहरण कान्देश्वरी बनेको उनले बताइन्।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँ हो, जहाँ सवारीसाधन र बिजुली पुगेको छैन। तर, यहाँ शिक्षामा परिवर्तन आइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए। उनले बालबालिकामा पढाइप्रति रुचि बढेको र अभिभावकमा पनि छोराछोरीलाई स्कूल पठाउनुपर्छ भन्ने चेतना बढेको बताए।

यहाँ पुग्न अझै दुई–तीन घण्टा हिँड्नुपर्छ। कक्षा ८ पास गरेपछि विद्यार्थीले अन्यत्र गएर पढ्नुपर्ने बाध्यता छ। गरिबीले गर्दा धेरै बालबालिकाले बीचमै पढाइ छाड्छन्। तर, लक्ष्मी प्रतिष्ठानले कक्षा ८ पास गर्ने बालबालिकालाई काभ्रेमा सञ्चालित छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको थपलियाले बताए।

२०७२ सालअघि यहाँ कक्षा ३ सम्म मात्र पढाइ हुन्थ्यो। २०६७ मा एकै परिवारका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ सङ्घसंस्था र सरकारको ध्यान पुग्न थाल्यो। लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले चेपाङ समुदायको उत्थान र शिक्षाका लागि काम गरे। प्रतिष्ठानले छात्रावास र फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरेपछि कक्षा ८ सम्म पढाइ सम्भव भएको हो। ‘अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, सङ्घसंस्थाको सहयोग नभए बालबालिका पढ्नबाट वञ्चित हुन्छन्,’ थपलियाले भने।

दाताको सहयोगमा कक्षा ८ सम्म पढाइ भए पनि शिक्षक दरबन्दी अभावले समस्या भएको उनले बताए। निम्न माध्यमिक तहमा १० शिक्षकको दरबन्दी चाहिन्छ, तर अहिले सात जना मात्र छन्। शौचालय र पुस्तकालयको अभाव रहेको भन्दै उनले विकट क्षेत्रका विद्यालयमा सरकारले ध्यान दिनुपर्ने बताए। पहिले ५० विद्यार्थी पनि नहुने यो विद्यालयमा अहिले १५० जना पढ्छन्। विद्यार्थीको सङ्ख्या बढेसँगै स्रोतसाधनको आवश्यकता पनि बढेको थपलियाले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस