चितवन- नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको वताउँदै राजनीतिक दलहरु असफलता तर्फ उन्मुख भएको वताउनु भयो ।
स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरु असफल र स्वतन्त्र उम्मेदवारहरु सफल हुँदा दलहरुको कार्यक्षमतामा प्रश्न चिन्ह खडा भएको वताउँदै खनालले दलहरु आत्मसमिक्षा गर्दै सच्चिनुपर्नेमा जोड दिनुभयो ।
कालिका जेसिजले कालिका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रममा अध्यक्ष खनालले यस्तो बताउनु भएको हो ।शनिवार जुटपानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कालिका जेसिजले पुर्वी चितवनको कालिका नगरपालिकामा नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष एवं सदस्यहरुलाई सम्मान एवं बधाई ज्ञापन गरेको हो । राजनीतिक दलहरुको शिक्षा, स्वास्थ्य र रोजगारी संग सम्वन्धित नारा पुरानो भएको वताउँदै खनालले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक घर एक व्यवसायको अवधारणा ल्याउन आग्रह गर्नु भयो ।

कार्यक्रममा वोल्दै कालिका नगरपालिकाका नवनिर्वाचित मेयर विनोद रेग्मीले आफ्नो पाँचवर्षे कार्यकाल समृद्ध कालिका निर्माणमा खर्चने वताउनु भयो । आफु कुनै राजनीतिक दलको उम्मेदवार भएर निर्वाचित भए पनि आम नगरवासीको साझा प्रतिनिधि भएर काम गर्ने वताउँदै रेग्मीले समृद्ध समाज निर्माणमा युवाहरुको भूमिका महत्वपुर्ण हुने वताउनु भयो ।
कालिका जेसिजका अध्यक्ष मेनुका थापा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर विमला लामा, भिमोदय माध्यमिक विद्यालय पदमपुरका प्रधानाध्यापक हरि प्रसाद कँडेल, कालिका १ का पुर्व अध्यक्ष लिला बहादुर गुरुङ, कालिका जेसिजका मानार्थ सदस्य शिव पौडेल, निवर्तमान अध्यक्ष सन्देश रेग्मी, विभिन्न वडाका वडाध्यक्षहरुले वोल्नु भएको थियो ।


































Discussion about this post